पटक-पटक मिति सर्दै आएको नेपालगञ्जको आधुनिक बसपार्क बल्ल बन्यो

नेपालगञ्जमा पटक(पटक मिति सर्दै आएको आधुनिक बसपार्क बल्ल तयार भएको छ। १४ करोड ९४ लाखमा सम्झौता भएको बसपार्क साढे १६ करोडमा सम्पन्न भएको हो। बसपार्क बनेसँगै आइतबारदेखि बसहरु बसपार्कबाटै सञ्चालन गरिएको छ।
बसपार्कको उद्घाटन भने १८ गते मुख्यमन्त्रीबाट गराउने कार्यक्रम बनाइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले बस समितिहरुसँग समन्वय गरेर आइतबारदेखि सबै बसहरु बसपार्कबाट छुट्ने र बसपार्कमा यात्रु झार्ने व्यवस्था मिलाएको छ।नेपालगञ्जका मेयर डा। धवलशमशेर राणाले ठेकेदार र स्टेमिटमा भएको कमजोरीले गर्दा बसपार्क निर्माणमा ढिलाइ भएको बताए।
‘अब त बसपार्क बन्यो । यसलाई सफा, सुुग्धर र सुरक्षित गर्ने काम यहाँकै हो, मेयर राणाले बस समितिका पदाधिकारी, चालक र प्रहरी उपस्थित कार्यक्रममा भने, उपमहानगरपालिकाले सधैं बसपार्क सञ्चालन गर्न सक्दैन।’
बाँके प्रहरीले दशैं लक्षित गरेर बसपार्कमा राखेको यात्रु सहायता कक्षको उद्घाटन गर्न मेयर राणा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी बीरबहादुर वली, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य पुगेका थिए।
त्यसक्रममा बसपार्कबाट छुटेको पहिलो गाडीका चालकलाई मेयर राणा, प्रमुख जिल्ला अधिकारी खड्काले माला लगाएर बिदाई गरेका थिए। चाडबाडमा यात्रुको चाप बढ्ने, बसका कर्मचारीले तानातान गर्ने समस्या बढी आउने गर्दछ।
प्रमुख जिल्ला अधिकारी खड्काले आधुनिक बसपार्क बनेको र नियम संगत रुपमा बसहरु छुट्ने र झार्ने काम हुने भएकाले अबका दिनमा यात्रुलाई तानातान नहुनेमा विश्वास व्यक्त गरे।
अढाई वर्षदेखि बसपार्क बनिरहदा नेपालगञ्जदेखि पूर्व तथा पश्चिम जाने बसहरु पुष्पलालचोक लगायतका ठाउँमा बसेर यात्रुलाई तानातान गर्ने गर्दथे। अबका दिनमा पूर्व(पश्चिम जहाँबाट आएका बस पनि बसपार्कमै पुग्नु पर्ने र त्यहीबाट बाहिरिनु पर्ने नियम बनाइएको छ। यसले गर्दा चोकहरुमा ट्राफिक समस्या हटेर जानेछ।
देश सञ्चारबाट