हेटौँडा उपमहानगरपालिका–१२ मा मतदान सकियो, ६८.९ प्रतिशत मत खस्यो
हेटौँडा / हेटौँडा उपमहानगरपालिका–१२ मा आज शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । तीन घेराको सुरक्षाका बिच शान्तिपूर्ण रुपमा मतदानको काम सकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । उपनिर्वाचनमा पनि निकै उत्साह पूर्ण डंगले स्थानीयले मतदान गरेका थिए ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि सम्पन्न भएको छ । आइतबार बिहान ७ बजेटबाट साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ ।
२ वटा मतदान स्थलमा कायम गरिएको ९ मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४२८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योती आधारभूत विद्यालयमा रहेको ४ मतदान केन्द्रमा २ हजार ४७४ मत खसेको हो ।
मतदान कार्यक्रममा महिला २ हजार ९४६ र पुरुष २ हजार ५३७ मतदाताले सहभागिता जनाएका छन् । प्रतिभा मतदान केन्द्रमा १ हजार ६३७ महिला र १ हजार ३७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योती मतदान केन्द्रमा महिला १ हजार ३०९ र पुरुष १ हजार १६५ मतदाताले मत खसालेका छन् ।
उक्त वडाको वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।