मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच ऐतिहासिक सम्झौता
हेटौंडा । नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच ऐतिहासिक समझदारी भएको छ। उक्त सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवाली र चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहले हस्ताक्षर गरेका हुन्।
यो सम्झौता पाँच वर्षको अवधि ५ वर्ष सम्म हुनेछ । जसअन्तर्गत प्रतिष्ठान र संस्थानले संयुक्त रूपमा क्लिनिकल सेवा, चिकित्सा शिक्षा, र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने भएका छन्। यसले चिकित्सा सेवाको गुणस्तर वृद्धि गर्नुका साथै देशमा विशेषज्ञ सेवाको पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।
उक्त सम्झौताले विशेषतः हेटौंडा अस्पतालमा मुटुरोग, मिर्गौलारोग, जनरल सर्जरी, महिला तथा बाल रोगजस्ता विभिन्न विशेषज्ञ सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ। यसबाहेक, शिक्षण अस्पतालको रूपमा सेवा विस्तार गरी विद्यार्थीहरूका लागि उच्चस्तरीय शिक्षण र अनुसन्धानका अवसरहरू सिर्जना गरिनेछ।
सम्झौता समारोहमा बोल्दै उपकुलपति डाक्टर ज्ञवालीले यस सहकार्यले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका साथै नेपालका स्वास्थ्य सेवाका क्षेत्रमा नवीनतम अभ्यास र प्रविधिहरू भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले थपे, ‘यो सम्झौता केवल स्वास्थ्य सेवा र शिक्षा क्षेत्रको विकासमात्र नभई, देशभरिका नागरिकलाई अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्ने दिशामा टेवा पुर्याउनेछ।’
डिन प्राध्यापक डाक्टर सिंह शाहले यो सहकार्यले अनुसन्धानलाई प्रोत्साहन दिने र नेपालका युवा चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण प्रदान गर्ने वातावरण निर्माण गर्नेमा जोड दिइन्। उनले चिकित्सा क्षेत्रका शैक्षिक गतिविधिहरूलाई अझ सुदृढ बनाउनका लागि यो सम्झौता मीलको पत्थर सावित हुने विश्वास व्यक्त गरिन्।
सम्झौता भएको यस सहकार्यले स्वास्थ्य सेवा, शिक्षा, र अनुसन्धानको क्षेत्रमा एक नवीन दृष्टिकोण प्रस्तुत गरेको छ। पाँच वर्षको अवधिमा यसले स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्न र ग्रामीण तथा शहरी क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुर्याउनेछ। साझेदारीबाट नेपालको चिकित्सा क्षेत्रलाई विश्वस्तरीय मान्यता दिलाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।