बागमती प्रदेशमा बिना बिभागिय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइयो, मन्त्रालयको सख्या १४ पुग्यो
हेटौंडा । बागमती प्रदेशमा बिना बिभागिय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइने भएको छ । अहिले १३ वटा मन्त्रालय रहेपनि अब भने मन्त्रालयको सख्या १४ पुरयाइने भएको हो । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिने बुझिएको छ । वाग्मतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।
सपथ लिएको १११ दिनदेखि बिनाविभागीय रहेका कांग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो । यद्यपि, आजको मन्त्रिपरिषद्ले श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने मन्त्रिपरिषद्ले नगरेको मन्त्री लामिछानेले जानकारी दिए ।
हतारहतारमा हाललाई मन्त्रालय विभाजन गरिएको र आगामी मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई जिम्मेवारी तोक्ने मन्त्री लामिछानेले जनाए । श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिने सम्बन्धमा सैद्धान्तिक सहमति रहेको उनको भनाइ छ ।
विभाजन गरिएको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा कांग्रेसका विमल ठकुरीले नेतृत्व गरिरहेका थिए । ९ साउनमा मुख्यमन्त्री लामासँगै श्रेष्ठले शपथ लिएका थिए । बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय र मन्त्रिपरिषद् १४ सदस्यीय थियो । मन्त्रालय नतोकिएका कारण विना विभागीय मन्त्री श्रेष्ठ विगत साढे ३ महिनादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा बस्दै आएका थिए ।
बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, कृषि तथा पशुपन्छी, खानेपानी, ऊर्जा तथा सिंचाइ, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, रोजगार तथा यातायात, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, संस्कृति, पर्यटन तथा सहकारी, सामाजिक विकास, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय रहेको अब सहकारी मन्त्रालय पनि थपिएको छ ।