राक्सिराङमा कार्यक्रम गर्न पालिकाको स्वीकृति अनिवार्य

जनपत्र
२३ कार्तिक २०८१, शुक्रबार १७:४१

हेटौंडा / मकवानपुरको एक पालिकाले आफ्नो क्षेत्रभित्र कुनै पनि गतिविधि र कार्यक्रम संचालन गर्नुअगावै अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।
जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा कुनै पनि गतिविधि र कार्यक्रम सञ्चालन गर्दा गाउँपालिकाको स्वीकृति अनिवार्य रुपमा लिनु पर्ने व्यवस्था गरिएको हो ।

गाउँपालिकाभित्र अनधिकृत व्यक्ति, संघ, संस्थाका आफूखुसी गतिविधि रोक्न गाउँपालिकाले सूचना जारी गरी समन्वय गरेर मात्रै गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्थालगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कानुनी व्यवस्थाको उल्लंघन हुने गरी नियमनकारी निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना नै विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थानका विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायको नाममा खाद्यवस्तु, लत्ताकपडा वितरण, चन्दा सहयोग, स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिकाले समन्वय गरेर मात्रै गतिविधि गर्न आग्रह गरेको हो ।

अवैधानिक गतिविधिका कारणले सिर्जना हुनसक्ने प्रतिकूल परिस्थिति, समुदायको परनिर्भरता बढ्ने, लाभग्राही छनोटमा पारदर्शिता नहुने, सञ्चालक व्यक्ति वा संस्था जवाफदेही नहुने जस्ता अवस्थालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न पालिकाले उक्त सूचना जारी गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँपालिकासँगको समन्वय र स्वीकृतिबेगर गतिविधि सञ्चालन हुन नदिन सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, जनप्रतिनिधि, नगरप्रहरी इकाई र सरोकारवालालाई अनुरोधको साथै निर्देशन दिएका छौं, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*