बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

जनपत्र
२१ कार्तिक २०८१, बुधबार ०७:३२

हेटौँडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको ठुलो लगानी भइसक्दा पनि कुनै सम्पन्न भएका छैनन् भने कुनै सञ्चालनमा आउन सकेका छैनन् । मन्त्रालयले नै क्रमागत आयोजना नै समस्याग्रस्त आयोजनामा परिणत भएको जनाएको छ । मन्त्रालयमार्फत हाल कृषि तथा वन विश्वविद्यालयमा बिएसएल ल्याब स्थापना, भरतपुरमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण, हेटौँडामा प्रादेशिक कृषि थोक बजार निर्माण र प्रदेशका विभिन्न जिल्लामा शीतभण्डार निर्माण बहुवर्षीय आयोजना अन्तर्गत निर्माणाधीन छन् ।

प्रदेशका विभिन्न जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि साझेदारीमा शीतभण्डार बहुवर्षीय आयोजना अन्तर्गत निर्माण सुरु भएका कतिपय सम्पन्न भएका छन् भने कतिपय निर्माणाधीन रहेका छन् । उता हेटौँडामा दुध पाउडर प्लान्ट निर्माण सम्पन्नको लामो समय भइसक्दा पनि प्रदेश सरकारले सञ्चालनसम्बन्धी नीति बनाउन नसक्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । हाल कामचलाउ रूपमा दुग्ध विकास संस्थानले सञ्चालन गर्दै आए पनि प्रदेश सरकारको लगानीले प्रतिफल प्राप्त गरेको अवस्था छैन ।

मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माणपूर्व नै दुध पाउडर प्लान्ट सञ्चालन मोडालिटी निर्माण हुन नसक्दा निर्माण भइसकेपछि कसरी सञ्चालन गर्ने भन्नेबारे समस्या आएको बताउनुभयो । उहाँले दुध पाउडर प्लान्ट सञ्चालन मोडालिटी तयार हुँदै गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको धुलो दुध कारखानाको सञ्चालन मोडालिटी तयार नहुँदासम्म दुग्ध विकास संस्थानसँग समझदारीपत्रमा सम्झौता गरी सञ्चालन गर्न प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाएको छ ।

धुलो दुध कारखाना ४७ करोड ३३ लाख २४ हजार रुपियाँ निर्माण लागत रहेकोमा गत आवसम्ममा ४७ करोड २५ लाख ६० हजार रुपियाँ खर्च भइसकेको छ । साथै आयोजनाको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९३ प्रतिशत भएको तथ्याङ्क मन्त्रालयको छ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा २८ करोड ३६ लाख ५६ हजार रुपियाँको लागतमा तीन वर्षमा सम्पन्न गर्ने गरी हेटौँडामा प्रादेशिक कृषि थोक बजार निर्माण गर्ने सम्झौता भएकोमा अझै निर्माण पूरा भएको छैन । गत आवसम्ममा यस आयोजनामा कुल २१ करोड ४३ लाख ११ हजार खर्च भई भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत भएको छ । मन्त्रालयका अनुसार प्रादेशिक कृषि थोक बजार सञ्चालनका लागि मोडालिटी तयार गरिँदै छ ।

यस्तै प्रदेश सरकारको स्पष्ट नीतिको अभावमा कतिपय शीतभण्डार सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । यस्तै कतिपय शीतभण्डार निर्माण सुरु भएको लामो समय भइसक्दासमेत अझै अधुरा रहेका छन् । शीतभण्डार आयोजना अन्तर्गत विभिन्न जिल्लामा गरी प्रदेश सरकारको निर्माणमा प्रदेश सरकारको हालसम्मकै सबैभन्दा भौतिक संरचना निर्माणमा खर्च भइसकेको छ ।

पाँचबर्से योजना अवधि रहेको यस आयोजना कुल लागत एक अर्ब १७ करोड ३० लाख रुपियाँ रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ७६ करोड ३२ लाख ८४ हजार रुपियाँ खर्च भइसकेको छ । भौतिक ८६ प्रतिशत र वित्तीय प्रगति ०.५२ प्रतिशत भएको मन्त्रालयको अभिलेख छ । लागत साझेदारीमा निर्माण एवं सञ्चालन गर्ने सम्झौता अनुरूप मन्त्रालयबाट ठेक्का लगाई निर्माण सुरु गरेकामा साझेदार संस्थाले सम्झौता अनुसारको रकम उपलब्ध नगराउँदा सम्पन्न गर्न समस्या भएकोले आवश्यक निकास निकाल्नुपर्ने मन्त्रालयको भनाइ छ ।

कृषि तथा वन विश्वविद्यालय रामपुरमा बिएसएल ल्याब १४ करोड ५० लाख रुपियाँको लागतमा स्थापना गर्ने गरी काम सुरु भएकोमा गत आव २०८०/८१ सम्ममा १२ करोड ६० लाख १० हजार रुपियाँ खर्च भइसकेको छ । तीन वर्ष योजना अवधि रहेको आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ५५.२ प्रतिशत पूरा भई अन्तिम परीक्षण गरिँदै गरेको जनाइएको छ ।

भरतपुरमा भेटेरिनरी अस्पताल दुई वर्षमा नौ करोड ३३ लाख ५५ हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएकोमा गत आवको असार मसान्तसम्ममा पाँच करोड पाँच लाख १६ हजार रुपियाँ खर्च भई भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति शतप्रतिशत भएको छ । गोर्खापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*