मकवानपुरका किसानलाई तिहार सकेर धान भित्र्याउन भ्याइनभ्याई, खेतमा अर्को बालि लगाउने चटारो
हेटौंडा । मकवानपुरमा यति बेला तिहार मानेर नियमित कामकाजमा फर्कनेको भीडभाड छ । हेटौंडा सहरबजारसँगै गाउँमा कोही मोटर त कोही हिँडेरै तिहार सकेर कामकाजमा फर्किरहेका छन् । खेतमा असारमा लगाएको धान भित्रयाउन किसानहरु व्यस्त भएका छन् ।
दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।
भाइटिकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायतका क्षेत्रका धेरै किसान खेतमा व्यस्त छन् । केही किसानले तिहारअघिनै खेतको धान भित्रयाइसकेका छन् । केही भने धान भित्रयाउने चटारोमा छन् ।
पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्र्याउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्र्याउन व्यस्त छन् । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।