मकवानपुरमा फुटबल प्रशिक्षण गरिरहेका बेपत्ता ६ बालकमध्ये ३ जनाको शव भेटियो
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ । शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।
सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए । तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुष्टि गरे । उनीहरूको सनाखत हुन बाँकी छ ।
मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । २५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट ९ जनाको टोली त्यसतर्फ जाँदैछ । भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो ।