संविधानको रक्षा र कार्यान्वयनमा समझदारी बनाएर अघि बढ्नुपर्छ– बागमती प्रदेश प्रमुख देवकोटा

जनपत्र
३ आश्विन २०८१, बिहीबार ०७:०७

मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनु भएको छ । संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदशे प्रमुख देवकोटाले शुभकामना सन्देश दिंदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औल्याउनु भएको छ ।

जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ बर्ष पूरा भएको छ । “यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु” प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छ ।

यो सुनौलो विहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

नेपाली जनताको संघर्ष र बलिदानको स्वरूप विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै आएको छ ।

“केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको उत्सवको दिन हो आज” प्रमुखको सन्देशमा भनिएको छ।

यो ९ वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका र यसले संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका सन्देशमा उल्लेख छ ।

साथै सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहने पनि उहाँले बताउनु भएको छ । संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाल सबैले आ आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा प्रदेश प्रमुख देवकोटाले आमनागरिकमा अनुरोध समेत गर्नुभएको छ ।

संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*