शिक्षा दिवसका अवसरमा बागमती प्रदेशका उत्कृष्ट बिद्यालय पुरस्कृत
हेटौंडा । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आज बागमती प्रदेशका उत्कृष्ट बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ । प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशका उत्कृष्ट बिद्यालयलाई आज सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोति कार्यक्रममा पुरस्कृत गरिएको हो ।
दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँ र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौँ उत्कृष्ट भएका थिए ।
त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौँ, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौँ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौँ, शांकरी स्कुल छाउनी काठमाडौँ र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौँ प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कृत हुनेहरुलाई प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक दिपेन्द्र सुवेदी लगायतकाले नगद, प्रमाणपत्र, सहित पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रको गुणस्तर र नतिजामुखी बनाउन अभिभावकहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् ।