बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघको स्वागत
हेटौंडा । मकवानपुर उद्योग वाणिज्यसंघले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुलाई स्वागत , सम्मान तथा छलफल कार्यक्रम गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु सहित मन्त्रीहरुलाई बोलाएर उद्योगि र व्यावसायीहरुका समस्या पनि राख्ने र स्वागत सम्मान पनि गरेको हो ।
मकवानपुर उद्योग वािण्ज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले मुख्यमन्त्री लामा, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वाल, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन, मन्त्री मधु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक मायाँ तामाङ लगायतकालाई स्वागत सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उद्योगि व्यावसायीहरुका समस्या समाधानमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो । वषौ देखिका उद्योगिका समस्यामा आफुहरुले सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले उद्योगीसँग कर लिएपछि उनीहरुलाई सेवासुविधा पनि दिन जरुरी रहेको बताउनुभयो । ‘उद्योगका समस्याहरू धेरै छन् । लगानीकर्ताले जहिले पनि सुरक्षित महसुस गर्ने वातावरण राज्यले तयार पार्न जरुरी छ । त्यसका लागि कर छुट दिने हो वा अन्य सेवासुविधा यसविषयमा राज्य क्लियिर हुन जरुरी छ,’ मुख्यमन्त्री लामाले भन्नुभयो ।
मुख्यमन्त्री लामाले सर्वसाधारण, राजनीतिक दल र भ्रातृ संगठनले उद्योगीलाई दुःख दिने गरेको समेत बताउनुभयो । ‘कर्मचारीले पनि उद्योगीलाई दुःख दिने गरेका छन् । यो गलत हो,’ उहाँले भन्नुभयो। उद्योगी र सरकारवीच समन्वय हुन जरुरी रहेको उहाले बताउनुभयो।