हेटौंडामा अन्तरक्रियात्मक नीति तथा संवाद

हेटौंडामा / पाँचौ सुरक्षित गर्भपतन दिवसका अवसरमा अन्तरक्रियात्मक नीति तथा संवाद कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल मकवानपुर, वियोण्ड बेईजिङ्ग कमिटी र युवा सेवा समाज(युसेस) मकवानपुरको संयुक्त आयोजनामा भएका हो ।
कार्यक्रममा युसेसका अध्यक्ष एवं गैरसरकारी संस्था महासंघ प्रदेश ३ का अध्यक्ष लामा र आईपास नेपालकी कार्यक्रम संयोजक प्रीतम पोख्रेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुरका महिलाहरुमा सुरक्षित गर्भपतन सेवाको पहुँचमा बाधाहरुको पहिचानसम्बन्धी प्रतिवेदन र सुरक्षित गर्भपतन सेवाको परिचय, कानूनी व्यवस्था लगायतको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
हेटौंडा, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा गरिएको अध्ययन प्रतिवेदनअनुसार ७० प्रतिशत विद्यार्थी गर्भपतनको कानूनी मान्यताबारे जानकार छन् भने ४६ प्रतिशत सुरक्षित गर्भपतन सेवाको पहुँचमा कमी छन् । प्रदेश ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख आतिथ्य, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायको विशेष आतिथ्य रहेको कार्यक्रम युसेस मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य इकाईका प्रमुख सुपेन्द्र कार्की, प्राध्यापक कृष्ण दाहाल, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जालकी संयोजक आरती पाठक लगायतले मन्तव्य ब्यक्त गरेका थिए । उनीहरुले सुरक्षित गर्भपतन सेवाबारे चेतना जगाउँदै गाउँगाउँमा सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमअघि हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट शुरु भएको ¥याली बुद्धचोकहुँदै गैरसरकारी संस्था महासंघको नागरिक स्रोत केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । दिवसकै अवसरमा हेटौंडाको बुद्धचोकमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता, गायक किशोर खड्काद्धारा चेतनामुलक गित प्रस्तुत तथा सुरक्षित गर्भपतन सेवाबारे जानकारीमूलक स्टल पनि राखिएको थियो ।