आज हरितालिका तीज मनाइँदै, बिहानै देखि पानी परेकाले हेटौंडाको पशुपति मन्दिरमा पुजा गर्नेहरुलाई समस्या

जनपत्र
२१ भाद्र २०८१, शुक्रबार ०७:४०

हेटौंडा । आज हरितालिका तीज मनाइँदै छ । बिहानै देखि पानी परेकाले हेटौंडाको पशुपति मन्दिरमा पुजा गर्नेहरुलाई समस्या भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको पशुपति मन्दिरमा पुजाआजा गर्नेहरुको सख्या आज निकै कम छ । पहिलेका वर्षहरुमा स्वयंशेवक, सुरक्षाकर्मी राखेर पुजा गर्ने व्यावस्था मिलाउनुपर्ने बाध्यता थियो भने आज बर्तको दिनमा पुजा गर्न आउनेहरुको सख्यानै कम रहेको छ ।

हेटौंडाको पशुपति मन्दिर जस्तै मकवानपुरका अरु दश वटै स्थानीय तहका वडा वडामा रहेका मन्दिरहरुमा पनि आज पुजा गर्न आउने महिलाहरुलाई समस्या भएको छ । बिहानै देखि पानी परेकाले यो तिज पर्व मनाउनका लागि समस्या भएको महिलाहरुले बताएका छन् ।

भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको गुनासो पनि छ । महिनाैं अघिदेखि दर खाने, गरगहना एवम् पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा स्थापित गर्न खोजेको भन्दै आलोचना हुने गरेको छ । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए पनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनर्मिलनको पर्व हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*