नर्सिङ केयरगिभरमा जापान जान लिइने भाषा परीक्षामा कामदार लक्की ड्रमार्फत छनोट हुने

जनपत्र
११ आश्विन २०७६, शनिबार ०६:२४

नर्सिङ केयरगिभरका लागि जापान जाने श्रमिकहरु भाषा परीक्षामा सामेल हुन ुलक्की ड्रुमार्फत सामेल हुन पाउने भएका छन्। लक्की ड्रमा सहभागी हुनका लागि अनलाइन आवेदन दिनुपर्ने जापान फाउन्डेसनले जनाएको छ। लक्की ड्रका लागि शुक्रबारदेखि नै अनलाइन आवेदन खुलेको जापान फाउन्डेसनले जनाएको हो। आगामी अक्टोबर ३ सम्म आवेदन फारम भर्न सकिने फाउण्डेसनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै जनाएको छ।

लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन। जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो। लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ। जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ। भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ।

नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्नेछ। जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो। जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने जनाएको छ।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्। परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन्। नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन्। दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्नेछ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापानी दूतावास र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ। २०७५ चैत ११ माभएको सो श्रम सम्झौताअनुसार पहिलो पटक नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजान लागिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*