लाग्ला ट्रम्पमाथि महाअभियोग ?

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया फेरि सुरु भइसकेको छ । संसारमै सबैभन्दा लामो राष्ट्रपतीय निर्वाचनको प्रक्रिया रहेको अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीभित्र उम्मेदवार छान्ने आन्तरिक प्रतिस्पर्धा सुरु भइसकेको छ । डेमोक्रेटिक पार्टीबाट सन् २०२० को चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडोका पूर्वसिनेटर मिचेल बेन्नेट, पूर्वउपराष्ट्रपति जोए बिडेन, न्युजर्सीका सिनेटर कोरी बुकर, मोन्टानाका गभर्नर स्टेभेन बुलक, इन्डियानाको साउथ बेन्डका मेयर मेटे बुट्टिगिएग, टेक्सासको सान एन्टोनियोका मेयर जुलियन क्यास्ट्रो, पूर्वसांसद जोन डेलेनी, हवाईकी सांसद तुल्सी गब्बार्ड, क्यालिफोर्नियाकी पूर्वसिनेटर कमला ह्यारिस, मिन्नेसोटाकी सिनेटर एमी क्लोबुचर, फ्लोरिडाको मिरामारका पूर्वमेयर वाएन मेसाम, टेक्सासका पूर्वसांसद बेटो ओरुर्के, ओहायोका पूर्वसांसद टिम रायन, सिनेटर बर्नी स्यान्डर्स, पूर्वसिनेटर एलिजावेथ वारेनसहित अन्य दर्जन बढी डेमोक्रेटिक नेताहरू चुनावी मैदानमा छन् । यी उम्मेदवारमध्ये बर्नी स्यान्डर्स, जोए बिडेन ‘हाइ प्रोफाइल’ र डेमोक्रेटिक पार्टीभित्र प्रभावशाली उपस्थिति भएका उम्मेदवार हुन् ।
डेमोक्रेटिक पार्टीबाट सबैभन्दा बढी मत पाएर आधिकारिक उम्मेदवार बन्नेले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनी पराजित भइन् । हिलारी पराजित हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद व्यक्तित्व र त्यसले पाएको चर्चा प्रमुख कारक रहेको बताइन्छ । गैरराजनीतिक पृष्ठभूमिका ट्रम्पले हिलारीलाई हराउन स्वदेशीदेखि विदेशी शक्तिसम्मको प्रयोग गरेको आरोपमा उनीमाथि छानबिन निरन्तर चल्दै आएको छ । राष्ट्रपति बनेपछि पनि उनले अमेरिकामा सर्वस्वीकार्य छवि निर्माण गर्न सकेनन् । अब राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा फेरि उनका गतिविधि चर्चा र विवादको विषय बन्न थालेका छन् ।
अमेरिकामा यतिबेला नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ । जसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशी राष्ट्र, कानुनी र नैतिक व्यवहारसम्बन्धी प्रश्न र राजनीतिक प्रतिद्वन्द्वीविरुद्धका आरोपहरू छन् र ट्रम्पविरुद्ध महाअभियोगको अनुसन्धानसमेत सुरु भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बलियो रहेको डेमोक्रेटिक पार्टीले उनका विरुद्ध महाअभियोगको अनुसन्धानलाई औपचारिक रूपमा अघि बढाएको छ । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई सिध्याउनका लागि विदेशी नेतालाई दबाब दिएको आरोप लागेपछि यो विषय अहिले चर्चामा छ । महाभियोगसम्बन्धी कारबाहीले राष्ट्रपतिमाथि छानबिन चल्नेछ र रिपब्लिकन पार्टीका सांसदहरूले फ्लोर क्रस गरेको अवस्थामा ट्रम्प पदमुक्त हुने खतरासमेत रहन्छ ।