बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेस, मन्त्रालयको भागबन्डा पुनः परिवर्तन

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन् । मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन् ।
उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । जुन सरकार गठनका लागि पर्याप्त हुन्छ । ११० सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठन गर्न ५६ सांसदको साथ भए पुग्छ ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दावीका लागि समय तोकेका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरण अनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।
वाग्मतीमा प्रदेशमा मन्त्रालयको भागबन्डा पुनः परिवर्तन गरिएको छ । मंगलबार दिउँसो हेटौंडामा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित बसेको बैठकले मन्त्रालयको भागबन्डासहित आलोपालो सरकार नेतृत्व गर्ने विषय टुंग्याएको हो ।
सहमतिअनुसार प्रदेशको सुरुआतमा नेपाली कांग्रेसका दलका नेता बहादुरसिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।
सहमतिअनुसार एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा लिने सहमति बनेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।