दशैको मौका छोप्दै हेटौंडा बजारमा हरेक सामानमा महगी

हेटौंडा । नेपालीहरुको महानपर्व दशै नजिकीए संगै हेटौंडा बजारमा हरेक सामानमा महगी बढेको छ । दैनिक उपभोग्य सामान, तरकारी, मासु लगायतका दैनिक उपभोग्य सामानको भाउ बृद्धी भएको हो ।
अझै कुनै मुल्यनै उल्लेख नभएको कपडाका सामानको भाउ व्यापारीको मुखले जती भन्छन् त्यती तिर्नका लागि वाध्य भएको उपभोक्ताहरु वताउँछन् । दशैका लागि घरका परिवारलाई कपडा खरिद गर्न गएका हेटौंडा ४ का राम आचार्यले दशै नजिकिए संगै सबै कपडाको दर भन्दा दोव्वर मुल्य भन्ने गरेको र केही रकम माघ घटाएजसरी बिक्री गरिएको वताउनुहुन्छ ।
हेटौंडामा दिनहुँजसो बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालय लगायतका निकायले अनुगमन गरेका छन् । तर, अनुगमन प्रभावकारी हुन सकेको छैन । अनुगमनबाट उपभोक्ता ठगिन छोडेका छैनन् ।
सरकारले वृद्धि गरेको तलबले पनि नथग्ने गरी बजार भाउ बढेको छ। यसपाली १८ देखि २० प्रतिशतसम्म तलब बढेको थियो। तर, बजार भाउले त्यसलाई पछाडि पार्दै अघि बढेको छ। एक वर्षअघि साउनको तुलनामा तरकारीको भाउ यो साउनमा २३–३८ प्रतिशत र फलफूलको भाउ २०२ प्रतिशत महँगिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। माछामासु, खाद्यान्न, लत्ताकपडा पनि त्यतिकै महँगिएको छ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा यो आर्थिक वर्ष मूल्यवृद्धि ६ प्रतिशतभित्र राख्ने प्रक्षेपण गरेको थियो। तर, यो आर्थिक वर्षको सुरु महिना साउनमै मूल्य वृद्धि ७ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांक सार्वजनिक गरेको छ। कर्मचारीको तलब र वृद्धभत्ता बढेकाले मूल्यवृद्धिमा दबाब परेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘यो वर्ष कर्मचारीको तलब र वृद्धभत्ता बढाइएको छ। यस्तो बेलामा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्न निकै कठिन हुने देखिन्छ।’
यो आर्थिक वर्षदेखि बढेको कर्मचारीको तलब र वृद्धभत्ताले थेग्न नसक्ने गरी दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। साउनदेखि कर्मचारीको तलब, वृद्धभत्ता र अशक्त, अपांग, एकलमहिला, लोपान्मुख आदिवासी जनजातिको बढेको भत्ताभन्दा महँगी धेरैले वृद्धि भएको हो।
सरकारले यही आर्थिक वर्षदेखि सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतको तलब १८ र २० प्रतिशतले बढाएको छ । यसैगरी, सरकारले साउनदेखि जेष्ठ नगरिकलाई एक हजार रुपैयाँ भत्ता थप गरी तीन हजार र अशक्त, अपांग, एकल महिला, लोपान्मुख आदिवासी जनजातिलगायतलाई एक हजार रुपैयाँ बढाएको छ। तर, त्यसरी बढाइएको तलब र भत्ताभन्दा निकै गुणा उपभोग्य वस्तुको भाउ बढेको छ।
लगातारको वर्षाका कारण देखाउँदै व्यापारीले तरकारी तथा खाद्य वस्तुको मूल्य अचाक्ली बढाएका छन्। लगातारको वर्षाले तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लामा बाटो अवद्ध हुँदा आपूर्ति हुन नसकेको भन्दै तरकारीको भाउ बढाइएको हो ।
केही समय अघिसम्म ६०–७० रुपैयाँका प्रतिकिलोमा पाइने टमाटरको भाउ अहिले एक सय २० रुपैयाँसम्म पुगेको छ।
अहिले बजारमा डेढ सय रुपैयाँ किलोभन्दा घटीमा कुनै पनि तरकारी पाइँदैन्। ८०, ९० रुपैयाँ प्रतिधार्नीमा पाइने आलुको भाउ डेढ सय रुपैयाँभन्दा बढी पुगेको छ। साग, परबल, अदुवा, लसुनका भाउ पनि अत्यधिक बढेको छ।
यसैगरी, दैनिक उपभोग्य वस्तु दाल, चामल, पिठोलगायतका वस्तुको भाउ बढेको छ।
वर्षाका कारण तरकारीको माग र आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको व्यापारीको भनाइ छ। उपभोक्ताले तिर्ने मूल्य अत्यधिक बढाइए पनि किसानले त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारीको मूल्य बढ्नुमा बिचौलिया व्यापारीको हात रहेको बताइन्छ। तरकारी आयात कम भएको भन्दै बिचौलिया व्यापारीले आफूखुसी मूल्य बढाएका हुन्।
किसानबाट सस्तोमा किने पनि आमउपभोक्ताले खरिद गर्ने बजार तथा पसलमा तरकारीको मूल्य छोइ नसक्नु छ। तरकारी बजारको यो महँगीले आमउपभोक्ता मर्कामा परेका छन्। मूल्य छोइ नसक्न भएपछि भन्छा कसरी चलाउने भन्ने चिन्तामा उपभोक्ता छन्।
तरकारीको मात्रै होइन माछा, मासुको मूल्य पनि बढेको छ। दसैं नजिकिँदै गएकाले पनि मूल्य अस्वभाविक रूपले बढेको हो। बजार भाउले अस्वाभाविक बढे पनि अनुगमन गर्ने निकाय भने मुकदर्शक बनेको छ।