हेटौंडा र भिमफेदीमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा– १० र भीमफेदी –६ माण्डुमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भिमफेदीमा ट्रयाक्टर दुर्घटना र हेटौंडा– १० राप्ती पुल नजिक बसको ठक्करबाट दुईजनाको मुत्यु भएको हो ।
आज बिहान भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित एक जनाको मृत्यु भएको छ । अरु तीन जना घाईते भएका छन् । मुत्यु हुनेमा भिमफेदी ३ वस्ने उमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी घाइते हुनेमा भिमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २० बर्षीय राजु बस्नेत र सोही ठाउँ बस्ने १७ बर्षीय राजिव पोखरेल रहेको र घाइते तिनै जनाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आज बिहान सिलगुडीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदा मुत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मुत्यु हुनेमा हेटौंडा ११ डेरा गरी बस्ने चश्म भक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।