तेजाव आक्रमण पीडित मुस्कानका लागि वरुण धवनको भिडियो सन्देश

तेजाव आक्रमण पीडित मुस्कान खातुनका लागि उनको मनपर्ने बलिउड कलाकार वरुण धवनले पनि भिडियो सन्देश पठाएका छन्। वरुणले भिडियोमार्फत मुस्कानलाई भनेका छन्,ुमलाई विश्वास छ तिमी चाँडै ठीक हुनेछौ। आफ्नो पढाईलाई निरन्तरता दिनेछौ। उनले मुस्कान स्वस्थ भएपछि आफूलाई भेट्न आउने आशा समेत व्यक्त गरेका छन्।
वरुणलाई मुस्कानको पीडादायी अवस्था बारे भारतीय अभिनेत्री कृति स्याननले जानकारी दिएकी हुन्। कृति र वरुण मुस्कानका मनपर्ने बलिउड कलाकारहरु हुन्। कृतिले मुस्कानसँग भिडियो च्याट गरेपछि वरुण धवनलाई उनले मुस्कान बारे जानकारी दिएकी थिइन्। कृतिबाट मुस्कानको अवस्था थाहा पाउने बित्तिकै वरुणले भिडियो सन्देश पठाएका हुन्। भारतीय निर्देशक जुनैद मेमोनले ट्वीटरमार्फत भिडियो च्याट र सन्देश बारे जानकारी दिएका छन्।
मंगलबार मुस्कानको मनपर्ने गायक राजु लामाले उनी उपचाररत् कीर्तिपुर अस्पतालमा गएर उनीसँग भेटेका थिए। साथै लामाले उनको मनपर्ने गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको‘’ गाएर सुनाएका थिए। नौ कक्षामा अध्ययनरत् १४ वर्षीया मुस्कान खातुनमाथि भदौ तेस्रो साता तेजाव प्रहार भएको थियो। तेजावका कारण उनको अनुहार, हात र छातीमा चोट लागेको छ।