सेतो दाँत स्वस्थताको संकेत हो त ?

जनपत्र
८ आश्विन २०७६, बुधबार ०६:०६

हामीमध्ये धेरै चम्चमाउँदो दाँतका साथ मुस्काउन चाहन्छौं । हलिउडका अभिनेताको जस्तो दाँत भएमा बल्ल हामी सन्तुष्ट हुन्थ्यौं । अध्ययनहरूले देखाएअनुसार, १८ देखि ५२ प्रतिशत मानिस आफ्नो दाँतको रंगसँग सन्तुष्ट छैनन् । अमेरिकाजस्ता देशमा मानिसहरू दन्तचिकित्सककहाँ जाँदा दाँत सेतो बनाउने अनुरोध नै सबभन्दा धेरै गर्छन् ।

हामीहरू सेतो दाँतलाई आकर्षणको मात्र नभई स्वास्थ्यको पनि कारण ठान्छौं । हाम्रो दाँतको रंग उनीहरूको आन्तरिक रंगमा आधारित हुन्छ र त्यसलाई हाम्रो जिन र उमेरले प्रभावित पार्छ । अनि चुरोट पिएपछि, खाना खाएपछि र कुनै औषधि लिएपछि दाँतमा दाग लाग्न सक्छ । बूढो हुँदै गएपछि दाँत पहेंलिँदै जान्छ किनकि इनामेल खुइलिएर भित्रको डेन्टाइन देखिन थाल्छ ।

पहेंलिँदै गएको दाँतमा दाग थपिन थाल्छन् अनि गोलभेंडाको सस र कफी खाँदा क्रोमोजेन नामक रंगीन वस्तु दाँतमा बस्छन् । ब्याक्टेरिया र फन्जाईले हरियो र खैरोखैरो दाग लगाउँछन् । कालो चिया पिउँदा दाँतमा दाग लाग्दैन तर चिया पिउनुअघि सेतो वाइन पिउँदा भने दाग लाग्छ ।

यी खानेकुरा र तरल पदार्थले दाँतको रंग बिगार्न सक्छन् तर तिनीहरूले दाँत अस्वस्थ छन् भन्ने निष्कर्ष निस्कँदैन । तपाईंको चम्चमाउँदो सेतो दाँत भएपनि गिजामा संक्रमण हुन सक्छ । अनि तपाईंको दाँत सेतो नभएपनि स्वस्थ हुनसक्छ ।

एकखाले दागले त झन् दाँतलाई कुहिनबाट जोगाउँछ । कहिलेकाहीँ तपाईंको दाँतमा गिजाको छेउमा कालो घेरा देखिन्छ । यसो हेर्दा तिनीहरू काला विन्दुजस्ता देखिन्छन् । त्यसलाई कालो दाग भनिन्छ । कालो दागको कारणका विषयमा एक शताब्दीभन्दा बढी समयदेखि बहस भइरहेको भएपनि आधुनिक अनुसन्धानले यो क्याल्सियम, फोस्फेट, अनेकौं ब्याक्टेरिया र एक किसिमको फलाम वा तामाको मिश्रण भएको विशेष डेन्टल प्लाक भएको बताउँछ जसले कालो रंग जन्माउँछ ।

केही अध्ययनहरूले बालबालिकाको दाँतमा कालो दाग देखिएमा दाँत कुहिने सम्भावना कम हुने देखाएका छन् । दागमा रहेका माइक्रोबहरूले दाँतको सुरक्षा गर्छन् । दाँतको रंग बिग्रँदा दाँत कुहिएको वा अन्य कुनै रोग लागेको लक्षण पनि हुन चाहिँ सक्छ । त्यसैले दन्तचिकित्सककोमा जानुपर्छ । तर सेतो दाँत स्वस्थ नै हुन्छन् भन्ने छैन र रंग नभएको दाँत खराबै हुन्छ भन्ने छैन ।

स्वास्थ्य जेसुकै भएपनि तपाईं अझै पनि सेतो दाँत नै चाहनुहुन्छ त रु दाँत सेतो बनाउनका लागि मञ्जन र जेलहरू बजारमा पाइन्छन् । त्यस्ता कुरामा भएका वस्तुले दागलाई हटाउँछन् र तिनमा भएको नीलोनीलो रंगले दाँत पहेंलिन दिँदैनन् जसकारण दाँत झनै सेतो देखिन्छन् । तर मञ्जन लगायतका कुरा प्रयोग गर्नुभन्दा पनि तपाईंले दाग लगाउने खानेकुरा र पेय पदार्थ छोड्नु नै उपयुक्त हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*