आजको सरकार ओलीको, कांग्रेसको सरकार भोलिकोः नेता बानियाँ

जनपत्र
७ आश्विन २०७६, मंगलवार १६:४६

हेटौंडा/ नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको सरकार ओलीको, कांग्रेसको सरकार भोलिको हुने पक्का भएको बताउनुभएको छ ।

वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार काण्डैकाण्डमा फसेको बताउँदै नेता बानियाँले सरकारले जनविश्वास गुमाइसकेको भन्दै सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा मंगलबार हेटौंडाको बुद्धचोकमा बोल्दै प्रमूख अतिथि बानियाँले हजारौंको बलिदान र कयौं वर्षदेखिको जकेडिएको व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको रवैयाका कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधी तत्वहरुले टाउको उठाउन थालेको बताउनुभयो ।

कम्युनिष्ट सरकार हत्याहिंसा, बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता काण्डै काण्डमा फसिरहेको भन्दै नेता बानियाँले सरकारले जनताको हितविपरित काम गर्दै देशलाई नै संकटमा धकेलिरहेको बताउनुभयो ।

वर्तमान सरकारले संविधानकै बर्खिलापमा ऐन कानुन बनाउन थालेको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उहाँले बताउनुभयो । संविधानविपरीत ऐन कानुन निर्माणमा सरकारले जबरजस्ती गरे काँग्रेसले सशक्त प्रतिकार गर्ने बानियाँको चेतावनी थियो ।

कांग्रेसको धैर्यता र शालिनतालाई वर्तमान सरकारले कमजोरीको रुपमा बुझेको बताउँदै प्रमूख अतिथि बानियाँले काग्रेस प्रजातान्त्रिक पार्टी भएकाले लोकतन्त्र र प्रजातन्त्रको सम्मान गर्दै अघि बढ्नेमा विश्वस्त हुन आग्रह गर्दै कम्युनिष्टले पेलेरै अघि बढ्न खोजे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।

कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली हेटौंडाको कान्तिराजपथ, स्कुलरोड, सीमा चोक हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, पार्टी मकवानपुर सचिव बुद्ध लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*