मकवानपुरको भिमफेदी जेलमा स्वास्थ्य सेवा पाउनै मुस्किल

जनपत्र
७ आश्विन २०७६, मंगलवार ०६:३६

एउटै कोठामा ४८ जनासम्मको ओछ्यान लहरै छन्। कोल्टे फर्किंदा पनि सँगै सुतेको साथीलाई घच्चा लाग्छ। सँगैको साथीलाई सरुवा रोग सङ्क्रमण भए अरुलाई सर्न बेर लाग्दैन। यो कुनै अस्पतालको कथा होइन, यो मकवानपुर भीमफेदी कारागारको दृश्य हो।

पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य समस्या देखिनासाथ उपचार सुविधा छैन।

संविधानले सबै नागरिकलाई न्यूनतम स्वास्थ्योपचारको हक प्रत्याभूत गरेको भए पनि यहाँका कैदीबन्दीले सहजै स्वास्थ्य सेवा पाइरहेका छैनन्।

लामो समयदेखि कारागारको स्वास्थ्य विभागमा रहेको दरबन्दी रिक्त हुँदा कदैबन्दीले सहज स्वास्थोपचार नपाएका हुन्।

कारागारमा दुईजना स्वास्थ्य सहायक (एचए) को दरबन्दी भए पनि लामो समयदेखि दुवै पद रिक्त छन्। कारागारमै रहेका सामान्य स्वास्थ्य सेवाबारे जानकार कैदीबन्दीबाटै सामान्य औषधी वितरण गरिँदै आएको छ।

कारागारमा स्वास्थ्यकर्मी छैनन्, बिरामी परे भीमफेदी स्वास्थ्यचौकी लगिन्छ। त्यहाँबाट रिफर भए हेटौंडा अस्पताल लैजानुपर्छ। कारागारका नासु केदार सापकोटाले भने, ‘कैदीबन्दीको सुरक्षा दृष्टिकोणले यो अलि संवेदनशील, झन्झटिलो र समय बढी लाग्ने काम हो।’

कारागार स्वास्थ्य शाखामा निःशुल्क उपलब्ध हुने औषधी पनि अभाव छ। दैनिक खानुपर्ने औषधी कैदीबन्दीले आफैं किनेर खाइरहेका छन्। ‘प्रेसर, सुगरलगायत नियमति सेवन गर्नुपर्ने औषधी कैदीबन्दीलाई सरकारले व्यवस्था गर्नुपर्ने ऐनमै व्यवस्था भए पनि यहाँका कैदीबन्दी यसबाट वञ्चित छन्।
‘कारागारमा साह्रै कम परिमाणमा औषधी राखेको रहेछ।

सरकारले तोकेअनुसार निःशुल्क पाइने औषधीसमेत सबै नभएको पाइयो,’ कारागार अवस्थाबारे अनुगमनपछि मानव अधिकार संगठन नेपाल मकवानपुर सभापति अधिवक्ता अप्सरा बस्नेतले भनिन्।

‘स्वास्थोपचारका हकको कुरा साह्रै नाजुक रहेको पाइयो,’ अधिवक्तासमेत रहेकी बस्नेतले भनिन्, ‘कैदीबन्दीको चापअनुसार दुई स्वास्थ्यकर्मीले धान्न सक्ने अवस्था छैन, त्यही पनि दुई वर्षदेखि रिक्त छ।’

अनुगमनमा संलग्न मानव अधिकार संगठनका सदस्य अधिवक्ता उत्तमकुमार बस्नेतले कारागारमा एचएमात्रै दरबन्दी रहनु आश्चर्यजनक भएको बताए।
‘कम्तिमा एउटा मेडिकल अधिकृतको व्यवस्था हुनुपर्ने स्थानमा कोही स्वास्थ्यकर्मी नै छैनन्। यो मानवअधिकारको दृष्टिले साह्रै गम्भीर र आपत्तिजनक अवस्था हो,’ उनले भने।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत् धारा ३५ मा व्यवस्था भएको स्वास्थ्यसम्बन्धी हक उपभोगबाट कैदीबन्दी लगभग वञ्चि रहेको अधिवक्ता मोहन ढकालले बताए।

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, यसैगरी प्रत्येकलाई आफ्नो स्वास्थ्य उपचारसम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख छ।

सोही मौलिक हकमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक पनि हुनेछ। यस्तै प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ। यो कारागारमा रहेका कैदीबन्दीलाई पर्याप्त पिउने पानीसमेत समस्या छ।

विभिन्न कसुरका कारण हाल भीमफेदी कारागारमा २ सय ८० बन्दी र ७ सय २१ कैदीसहित १ हजार १ जना छन्। जसमा लागूऔषध कारोबारका कारण कारागार पुगेका सबैभन्दा बढी छन्। नेपाल न्युजबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*