म्याग्दीको बेनी–दरबाङ सडक खण्डको सिम–पानाबगर खण्डमा कालोपत्र

जनपत्र
३ असार २०८१, आईतवार १४:३२

म्याग्दी – पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने सिम–पानाबगर खण्डमा कालोपत्र भएको छ । सिमदेखि पानाबगरसम्म तीन किलोमिटर आठ सय मिटर दूरीको सडकमा कालोपत्र गरिएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दी इन्जिनियर रबिन चोखालका अनुसार आठ मिटरको फराकिलो चौडाइमा पक्की नालीसहित पर्खाल निर्माण गरी सिम–पानाबगर सडक खण्डमा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको हो ।

२०७८ साल पुस १८ गते अमर ओमबुद्ध जेभीले कुल १० करोड ७० लाख २१ हजार तीन सय २५ रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालयसँग सडक कालोपत्रको सम्झौता गरेको थियो । यही असार ७ गते कालोपत्र गरिसक्नुपर्ने सडकमा गएको जेठ १८ गतेदेखि कालोपत्रको काम शुरु गरेर सकिएको हो । कालोपत्र गरिएको सिम–पानाबगर सडकको वित्तीय प्रगति भने ७५ प्रतिशत छ ।

यसअघि म्याग्दीको बेनीबाट साढे १२ किलोमिटरको दूरीमा मंगला–२, सिमसम्म मात्र कालोपत्र गरिएको सडकमा अहिले पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति र कालोपत्र गरी पानाबगरसम्म पुर्‍याएको हो । सडक कालोपत्रपछि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट म्याग्दी सदरमुकाम बेनी आउने डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

सडक कालोपत्रे भएपछि यात्रा सहज हुनुका साथै स्थानीय उत्पादन दूध, तरकारी, फलफुललगायत कृषि उत्पादन बजार पुर्‍याउन किसानलाई राहत हुनेछ । लामो समयको पर्खाइपछि सडक कालोपत्र भएकाले अब आवतजावत सहज हुने राजेन्द्र आचार्यले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख इन्जिनियर विष्णु पौडेलले सडक स्तरोन्नति र कालोपत्र गर्ने कार्यमा कार्यालयबाट नियमित रूपमा गुणस्तर परीक्षण र अनुगमन गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*