कास्कीबाट उपचुनावमा उठ्नु भनेको म फेरि हार्नु हो : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का सचिवालय सदस्य वामदेव गौतमले आउँदो मसिंर १४ गते हुने उपचुनावमा आफू नउठ्ने स्पष्ट पार्नु भएको छ ।
शनिबार भएको नेकपाको सचिवालय बैठकमा आफूले कास्की क्षेत्र नम्बर १ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारी नदिने जानकारी दिनु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै आउँदो चुनावमा आफू नउठ्ने जानकारी सचिवालय बैठकमा जानकारी गराएको बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’