मकवानपुरमा भुकम्पका घर रेट्रोफिटिङ गर्ने अत्यन्तै कम

देशैभरी रेट्रोफिटिङ गर्नुपर्ने ७० हजारमध्ये २८ ले मात्र लिए अनुदान ।
जनपत्र
५ आश्विन २०७६, आईतवार ०६:३४

हेटौंडा । मकवानपुरमा भुकम्पका घर रेट्रोफिटिङ गर्ने अत्यन्तै कम रहेका छन् । भुकम्पका कारण थोरै मात्र बिग्रीएका घर रेट्रोफिटिङ गर्नका लागि धेरै लाभग्राहीहरुको आकर्षण कम भएको हो । भुकम्पले बिग्रीएका घर रेट्रोफिटिङ गर्नका लागि झन्झटिलो प्रकृयाका कारण लाभग्राहीको आकर्षण कम भएको हो ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास (घर) पुनर्निर्माणमा सन्तोषजनक प्रगति देखिए पनि प्रबलीकरण (रेट्रोफिटिङ)तर्फ सुस्त देखिएको छ। प्रबलीकरणबारे स्पष्ट बुझाइ नहुँदा यसप्रति लाभग्राहीको आकर्षण कम देखिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित ३२ जिल्लाका ७० हजारलाई प्रबलीकरण लाभग्राहीको सूचीमा राखेको छ। २०७२ को भूकम्पबाट आंशिक क्षति पुगेका ती घर प्रबलीकरण गरेर भूकम्पप्रतिरोधी बनाउन सकिने प्राधिकरणको भनाइ छ। तर, भूकम्पपीडितले प्रबलीकरणमा खासै चासो दिएको पाइँदैन।

प्राधिकरणको तथ्याङ्कअनुसार प्रबलीकरण लाभग्राही सूचीमा सूचीकृत ७० हजार ७२ लाभग्राही (घरधनी) मध्ये हालसम्म २८ जनाले मात्र दोस्रो किस्ता लिएका छन्। अनुदान सम्झौता गरेका करिब ९८ प्रतिशतले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लिए पनि दोस्रो किस्ता लिने न्यून पाइएको हो। प्रबलीकरणको काम सम्पन्न गरेपछि मात्र दोस्रो किस्ता पाउने व्यवस्था छ। प्राधिकरणको तथ्यांक अनुसार पहिलो किस्ता लिएका अधिकांशले प्रबलीकरण गरेका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित ३२ जिल्लाका ७० हजारलाई प्रबलीकरण लाभग्राहीको सूचीमा राखेको छ। २०७२ को भूकम्पबाट आंशिक क्षति पुगेका ती घर प्रबलीकरण गरेर भूकम्पप्रतिरोधी बनाउन सकिने प्राधिकरणको भनाइ छ। तर, भूकम्पपीडितले प्रबलीकरणमा खासै चासो दिएको पाइँदैन।

प्राधिकरणका अनुसार प्रबलीकरण लाभग्राहीमा सूचीकृत ५२ प्रतिशत लाभग्राही अहिलेसम्म अनुदान सम्झौता गर्न नै आएका छैनन्। हालसम्म ३३ हजार ६ सय २० लाभग्राहीले मात्र अनुदान सम्झौता गरेका छन्, जुन कूल लाभग्राही संख्याको ४८ प्रतिशत हो। बाँकी ५२ प्रतिशत अर्थात करिब ३७ हजार पीडितसँग अनुदान सम्झौता नै हुन सकेको छैन।

सरकारले प्रबलीकरण लाभग्राही सूचीमा परेकालाई २ किस्तामा १ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। घर पुनर्निर्माण गर्नुपर्ने सूचीमा परेका लाभग्राहीले ३ लाख रुपैयाँ पाउँछन्।

गलत बुझाइले समस्या

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे प्रबलीकरणबारे गलत बुझाइका कारण लाभग्राहीको आकर्षण कम देखिएको बताउँछन्। सुरुमै प्रबलीकरणबारे बुझाउन नसक्दा समस्या भएको उनले बताए। ‘प्रबलीकरणप्रतिको अविश्वास नै मुख्य समस्या देखियो,’ सहप्रवक्ता घिमिरेले भने, ‘प्रबलीकरणबाट घर सुरक्षित बनाउन सकिन्छ भन्नेमा लाभग्राहीमात्र नभई स्थानीय जनप्रतिनिधि र प्राविधिकसमेत विश्वस्त हुन नसकेको पाइयो।’

प्रबलीकरणमा बढी खर्चिलो हुने र घर बलियो नहुने भ्रमका कारण अधिकांश लाभग्राही पुनर्निर्माण सूचीमा आउन चाहेको उनले बताए। ‘पुनर्निर्माण लाभग्राहीमा परेपछि बढी पैसा पाइन्छ भनेर पनि प्रबलीकरणबाट पुनर्निर्माण लाभग्राहीमा आउन चाहेको देखिन्छ,’ घिमिरेले भने, ‘सुरुमै प्रबलीकरणबारे राम्रोसँग बुझाउन नसक्नु नै हाम्रो कमजोरी देखियो।’

प्रबलीकरणबारे प्राविधिकहरुमा नै पूर्ण जानकारीको अभाव हुनु, प्रबलीकरणका लागि दक्ष डकर्मी नहुनु, साझेदार संस्थाले प्रभावकारी भूमिका खेल्न नसक्नुलगायत कारण प्रबलीकरणको काम अगाडि बढेन नसकेको उनले बताए। नेपालको लागि नयाँ अभ्यास भएकाले पनि बुझाइ समस्या भएको सहसचिव घिमिरेको भनाइ छ।

दोलखाको शैलुङ गाउँपालिका–३ का वडा अध्यक्ष ध्रुवकुमार श्रेष्ठले प्रबलीकरणबाट बलियो बन्छ भन्ने विश्वास दिलाउन नसक्दा त्यसप्रति लाभग्राहीको आकर्षण बढ्न नसकेको बताए। ‘पहिले हामीलाई नै विश्वास थिएन, प्रबलीकरण के हो भन्ने पछिमात्र बुझ्यौं,’ उनले भने, ‘यसबाट बलियो बनाउन सकिन्छ भन्ने विश्वास भएपछि हामीले प्रबलीकरणतर्फ प्रेरित गर्ने काम गरिरहेका छौं।’

प्रबलीकरण भनेको मर्मत होइन
प्रबलीकरण भन्नसाथ मर्मतमात्र हो भन्ने बुझाइ अधिकांश लाभग्राहीमा देखिएको छ। त्यसैले आंशिक क्षति भएको घर मर्मत गर्नुभन्दा भत्काएर नयाँ बनाउनमै उनीहरुको ध्यान केन्द्रित भएको देखिन्छ।

प्रबलीकरणसम्बन्धी विज्ञ एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का उपकार्यकारी निर्देशक रमेश गुरागाईं प्रबलीकरण गर्नु मर्मत नभएको बताउँछन्। ‘प्रबलीकरण मर्मत होइन, भएको घरलाई अझ बलियो बनाउने हो,’ उनले भने, ‘प्रबलीकरणबाट घरलाई परम्परागत शैलीमै बचाउन सकिन्छ।’


नयाँ घर बनाउनुभन्दा कम खर्चमा प्रबलीकरण गर्न सकिने उनले बताए। ‘अधिकांशमा प्रबलीकरण गर्न पनि नयाँ घर बनाउनजत्तिकै खर्च हुन्छ भन्ने भ्रम देखिन्छ,’ उपकार्यकारी निर्देशक गुरागाईंले भने, ‘ढुंगा–माटोले बनेको घरलाई सस्तो प्रविधिमार्फत निक्कै कम खर्चमा प्रबलीकरण गरी बलियो बनाउन सकिन्छ। इँटा–सिमेन्टको घर पनि तुलानात्मक रूपमा नयाँ बनाउनुभन्दा धेरै कम खर्चमा प्रबलीकरण गर्न सकिन्छ।’

उनका अनुसार नयाँ बनाउँदा ३०-४० लाख रुपैयाँ खर्च लाग्ने घरलाई बढीमा ३ लाख रुपैयाँमा प्रबलीकरण गरेर बलियो बनाउन सकिन्छ। नेपालमा भूकम्पअघि नै प्रबलीकरणको अभ्यास भइसकेको उनले बताए। ‘नेपालमा यो नयाँ होइन, २०७२ को भूकम्पअघि नै करिब ३ सय विद्यालयमा यो प्रविधि प्रयोग गरिसकेका थियौं, ती सबै विद्यालयमा भूकम्पले कुनै पनि क्षति पुर्‍याएनन्,’ उनले भने।
प्रबलीकरणबारे सरकार, गैरसरकारी संस्था, सञ्चारमाध्यम लगायतले समयमा सही जानकारी दिन नसक्दा पुनर्निर्माणतर्फका लाभग्राही संख्या बढ्न गएको उनको बुझाइ छ। ‘प्रबलीकरणबारे सुरुमै सही जानकारी दिन सकेको भए यति धेरै घर पुनर्निर्माण गर्नुपर्ने थिएन,’ उपकार्यकारी निर्देशक गुरागाईंले भने, ‘प्रबलीकरणमार्फत बलियो मात्र नभएर घरको मौलिकता बचाउन सकिन्थ्यो, यसबाट राज्यको खर्च पनि जोगिने थियो।’

एनसेटले अहिले विभिन्न जिल्लामा प्रबलीकरणबारे अभियान चलाइरहेको उनले बताए। ‘प्रबलीकरणबाट बलियो हुन्छ भन्ने परीक्षणबाट प्रमाणित गरेर नै हामीले यससम्बन्धी अभियान चलाइरहेका छौं,’ उनले भने, ‘सरकारले प्रबलीकरणको अनुदान रकम २ लाख रुपैयाँ पुर्‍याउने हो भने यसतर्फ आकर्षित हुनसक्ने देखिन्छ।’

कहाँ कति लाभग्राही
प्रबलीकरण लाभग्राही बढी भएका जिल्लामा सिन्धुली, मकवानपुर, रामेछाप, काभ्रे, गोरखा, धादिङ र दोलखा रहेका छन्। ती सबैमा प्रबलीकरणको प्रगति निराशाजनक देखिन्छ।

पुनर्निर्माण प्राधिकरणका अनुसार सिन्धुलीमा सबैभन्दा बढी १४ हजार १ सय ५३ लाभग्राही छन्, जसमध्ये ९ हजार ४६ लाभग्राहीले मात्र पहिलो किस्ता लिएको तथ्यांक छ।

त्यसपछि मकवानपुरमा १२ हजार ९ सय ४६ प्रबलीकरण लाभग्राही रहेकोमा ७ हजार २ सय ३७ ले पहिलो किस्ता बुझेका छन्। रामेछापमा ७ हजार ४ सय ६० लाभग्राही छन्। त्यसमध्ये पहिलो किस्ता लिनेको संख्या जम्मा ५ सय १७ छ।

त्यसैगरी, ५ हजार ६ सय ८२ प्रबलीकरण लाभग्राही रहेको काभ्रेमा २ हजार ७ सय ८८ ले पहिलो किस्ता लिएका छन्। भूकम्पको केन्द्रविन्दु गोरखामा ५ हजार ३ सय ५३, धादिङ ४ हजार ७ सय १७ र दोलखामा २ हजार ५ सय ७६ लाभग्राही रहेको प्राधिकरणको तथ्यांक छ। गोरखा, धादिङ र दोलखामा क्रमशः १ हजार ५ सय ४३, २ हजार ५ सय ६१ र ९ सय १२ लाभग्राहीले पहिलो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*