गोरखाको धार्चेमा प्रशासनिक भवन अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

गोरखा । गोरखाको धार्चे गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सम्झौता अवधिभित्र काम पूरा नगरेर थप भएको म्याद गुज्रिँदासम्म पनि ठेकेदार काममा फर्किएका छैनन् ।
भवन निर्माणका लागि २०७८ साल वैशाख ५ गते विकोइ–हेमन्त जेभी चितवनसँग सम्झौता भएको थियो । करिब दुई बर्षमा काम सक्ने गरी सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार बताउँछन् ।
‘२०७९ साल माघ २९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘काम नसकिएपछि १३ महिना म्याद थप भयो तर, त्यो अवधिभर ठेकेदार एकपटक पनि यहाँ आएन, काम पनि गरेन ।’
फोन गर्दा प्राय नउठ्ने गरेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार भवनको हालसम्म ७० प्रतिशतमात्र काम भएको छ ।