टाउको किन दुख्छ ? यस्तो टाउको दुखाईले लिन सक्छ ज्यान !कसरी बच्ने ?

जनपत्र
१० जेष्ठ २०८१, बिहीबार ०६:२९

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन।

तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ।

समय समयमा विभिन्न समस्याले टाउको दुख्छ । केही सामान्य रुपमा कहिलेकाहीँ टाउको दुख्नुलाई सामान्य मानिन्छ । तर, अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । यस्तो टाउको दुखाई खतरनाक समेत हुन सक्छ ।

कहिलेकाहीँ प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ । तर, कुन रोगका कारण टाउको दुखेको हो भनेर पत्ता कसरी लगाउने भन्ने समस्या पर्न सक्छ ।

मानसिक तनावका कारण टाउको दुख्ने समस्यालाई माइग्रेन भनिन्छ । यो टाउको दुखाई केही समयमा औषधि, उपचार र खानपानका कारण निको हुन सक्छ ।

कहिलेकाहीँ सहनै नसक्ने गरी टाउको दुख्छ । यस्तोमा आफैँले औषधी किनेर खाने भूल गर्नु हुँदैन । धेरै टाउको दुख्नु घातक हुन्छ ।

कतिपय अवस्थामा सहन नसक्ने गरी टाउको दुख्यो वा अचानक टाउको दुख्न थाल्यो भने तत्काल अस्पताल जानु पर्दछ । धेरै टाउको दुख्दा लामो समयसम्म उपचार गरिएन भने ज्यान पनि जान सक्छ ।

किन दुख्छ टाउको ?

१. पिनास

टाउकोको अग्र भाग तथा अनुहारमा पीडा हुने टाउको दुखेमा पिनास कारक हुने गर्दछ । यो टाउकोमा पिनास भरिएपछि वा आँखा, नाक तथा गालाको पछिल्तिर रहेको पिनासको नलीमा अवरोध सिर्जना हुदाँ उक्त नलीमा सुन्निन गई टाउकोमा अधिक पीडा हुने गर्दछ । बिहानीको समयमा र टाउको अगाडी, पछाडी लादाँ यो पीडा अधिक हुन्छ ।

उपचार

यस प्रकारको टाउनको दुखाईबाट बच्न अत्याधिक मात्रामा तातो पानीको सेवन गर्नु पर्दछ । तातो पानीको सेवनले टाउकोमा जमेको पिनासलाई पगाल्न मद्दत गर्छ र सुन्निएको कम गर्नुका साथै पिनास खुलाउँछ ।

२. चिन्ता–तनाव :-

अहिले अधिकाशं मानिसको टाउको दुख्नुको प्रमुख कारण हो, तनाव । अनिन्द्रा, गलत खानपान, तनाव पूर्ण वातावरण, मदिराको सेवनले पनि यस प्रकारको टाउको दुखाईलाई बढाउने गर्दछ । यो सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्दै जान्छ ।

तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ । त्यस्तै, मांसपेशी जकडिएको महसुस हुने गर्छ ।

उपचार

अदुवाको चियाको सेवन वा पर्याप्त निद्राले पनि शरीरलाई तनावबाट मुक्ती दिलाउँछ । त्यस्तै, टाउको ठन्डा राख्ने विभिन्न आरामदायी तेलको प्रयाग गरेमा यस प्रकारको टाउको दुखाईबाट आराम मिल्दछ ।

३. क्लस्टर :-

टाउकाको एउटा भाग लगातार दुख्ने र उक्त दुखाई एक महिना वा त्यस भन्दा बढि समयसम्म लम्बिएमा यसलाई क्लस्टर भनिन्छ । यो महिलाको तुलनामा पुरुषलाई ४ गुणा बढी हुन्छ । क्लस्टर टाउको दुखाई भएमा टाउकोमा अत्याधिक मात्रामा पीडा हुन थाल्दछ ।

उपचार

यस किसिमको पीडा भएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

४. माइग्रेन :-

माइग्रेनको दुखाई मस्तिष्कमा हुने रक्त नली सुन्निदा हुने गर्दछ । यो पीडा जुनसुकै कारणले पनि हुनसक्छ । जस्तै, उज्यालो बत्ती, दुर्गन्ध, चर्को आवाज, पेय पदार्थको अत्याधिक सेवन ।

सामान्यतयाः माइग्रेनको पीडा २५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी हुन्छ । यो पीडा एउटा आँखामा मात्र सिमित हुने गर्दछ ।

यो दुखाई अचानक सुरु हुन्छ र टाउकोको एउटा भागमा मात्र रहन सक्छ । माइग्रेन पेन हुदाँ आँखामा आसु भरिने, नाकबाट सिँगान बग्ने वा नाक बन्द हुने लगायतका लक्षण देखिन्छ । साथै थकाई लाग्ने, हाई आउने, दृष्टी परिवर्तन हुने, हातखुट्टा झमझमाउने गर्दछ ।

उपचार

माइग्रेन पेनमा ओमेगा ३ फ्याट्टी एसिड, म्याग्नेसियम तथा भिटामिन बी १२ को सेवन राम्रो मानिन्छ । साथै चिकित्सकको परामर्श अनिवार्य छ ।

उपचारको विधि :-

  • दैनिक करिब ८ गिलास पानी पिउने गरौँ।
  • चिसोबाट बचौँ।
  • पर्याप्त आराम गरौँ।
  • दैनिक फलफूल सागपात खाऔँ।
  • सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ सकभर सेवन नगरौँ।
  • भोकै बस्ने बानी नगरौँ।
  • स्वस्थ र सन्तुलित भोजनमा ध्यान दिऔँ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*