हेटौंडामा बागमती प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख र १३ जिल्ला प्रजिअको सुरक्षा गोष्ठि सुरु

जनपत्र
८ जेष्ठ २०८१, मंगलवार १७:०३

हेटौंडा । बागमती प्रदेशभरीका चार वटै सुरक्षा निकायहरु र प्रमुख जिल्ला अधिकारीहरु सहितको सुरक्षा गोष्ठि हेटौंडामा सुरु भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेश स्तरिय २ गोष्ठि हेटौंडामा सुरु भएको हो ।

संघीय गृहमन्त्रालयका सचिब एक नारायण अर्यालको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा गोष्ठि सुरु भएको हो । भोली समापनका अवसरमा भने गृहमन्त्री रवि लामिछाने आउने कार्यक्रम रहेको छ ।

प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो साढे ३ बजेबाट प्रदेश स्तरिय गोष्ठि सुरु भएको हो ।

दुइ दिने गोष्ठिमा बागमती प्रदेशभरीका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेश अन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी भएका छन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ । प्रदेश समन्वय समितिको बैठक यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो ।

बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा वैठकमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*