विलासी जीवन रोगको भारी, हेटौंडामा नसर्ने रोगका बिरामी बढ्दै

सरिता दाहाल
३ आश्विन २०७६, शुक्रबार ०६:०९

हेटौंडा / विलासी जीवन शैलीको मोह बढेसँगै नसर्ने रोगका कारण बिरामी हुनेहरूको संङ्ख्या बढ्न थालेको छ।

विलासी र भड्किलो देखासिकीपूर्ण जीवनशैली अपनाउनेहरूको जमात बढेसँगै नसर्ने तर बढी खतरापूर्ण रोगका बिरामी पनि बढेको पाइएको हो।

विशेषगरी नियमित खानपानका कारण निम्तने रोगहरूका बिरामी बढ्न थालेका हुन्। प्रदुषित हावा, पिउनेपानी जस्ता सरुवा रोगका कारण मर्नेहरूको संख्या घटाउन सरकारले महत्वपूर्ण नीति तथा कार्यक्रम अगाडि बढाइरहँदा नसर्ने रोग अर्को चुनौती बनेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख सुपेन्द्र कार्की बताउँछन्।

‘यस शाखाबाट गम्भीर प्रकृतिको रोगका कारण उपचारमा सहुलियत लिनेहरूको तथ्याङ्कले पनि हाम्रो समाजमा भित्रँदै गरेका रोगहरूको अवस्था आँकलन गर्न सकिन्छ’, महाशाखा प्रमुख कार्कीले भने। उनका अनुसार महाशाखाबाट गत माघ २३ देखि असार मसान्तसम्म विभिन्न ५ प्रकारका रोगमा उपचार सहायता लिनेहरूको संङख्या १५६ छ । जसमा महिला ७३ र पुरुष ८३ छन्। १५६ जनामध्ये १६ जना ४० वर्षभन्दा कम उमेर समूहका छन् । अधिकांश ४५ वर्षभन्दा माथिको उमेर समूहका रहेको तथ्यांकले देखाएको छ।

महाशाखा प्रमुख कार्कीका अनुसार उक्त अवधिमा सहुलियत लिनेमा क्यान्सरका रोगीमात्रै ६५ जना छन् जसमा महिला ३४ र पुरुष ३१ जना छन् । यसैगरी, मुटु रोगी ५३ जना छन् जसमा ३१ पुरुष र २२ महिला छन् । यो अवधिमा १४ महिला तथा १३ पुरुषको मृगौला फेल भएको पाइएको छ । कार्कीका अनुसार स्पाइनल इन्जुरी र हेड इन्जुरी हुने बिरामी पनि बढ्न थालेका छन् । यो अवधिमा ८ जना बिरामीले स्पाइन र हेड इन्जुरीको उपचारका लागि राहत रकम बुझेका छन्।

यो तथ्याङ्क हेटौंडा उपमहानगरपालिकाको १९ वडाका उपचारमा आर्थिक लगानी गर्न नसक्ने विपन्न परिवारको मात्रै हो। ‘सबै बिरामीका परिवारले उपचारका लागि राहत रकम लिन्छन् नै भन्ने छैन, यीबाहेक पनि बिरामी हुन सक्नुहुन्छ,’ कार्कीले भने ‘उपमहानगरबाट राहत लिनेमात्रैको तथ्याङ्कले पनि गम्भीर अवस्था देखाएको छ।’

खानेकुरामा मिसावट हुने विषादी, पर्याप्त परिश्रम तथा शारीरिक अभ्यासको अभाव जस्ता कारण यी रोग लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यससँगै पछिल्लो समय प्रेसर, सुगर, थाइराइडजस्ता रोगका बिरामी पनि उच्च गतिमा बढेका छन्।

नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग हुने गरेको तथ्य पत्ता लागेको छ। प्रदेश ३ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विदुर झाले यस्तो ताथ्याङ्क सार्वजनिक गरेका हुन्।

पछिल्ला वर्षहरूमा सर्ने रोगको भन्दा नसर्ने वंशाणुगत रोगको भय बढी रहेको उनले बताए । ‘सरुवा रोगहरू नियन्त्रण गर्न सकिन्छ, तर नसर्ने रोगका दैनिक समस्या बढीरहेको छ,’ जनस्वास्थ्य अधिकृत विदुर झाले भने । नसर्ने रोगबाट कसरी बच्ने भन्नेबारे जानकारी नभएको कारण मृत्युदर बढिरहेको झाले बताए।

मुटु रोग, क्यान्सर, श्वासप्रश्वास जस्ता नसर्ने रोगको कारणबारे प्रचारप्रसारको कमी भएको उनले बताए। नेपालको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्ने माग हुँदै आएको छ, तर हाल कुल बजेटको ४.६५ प्रतिशमात्रै बजेट स्वास्थ्यका लागि छुट्याइएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।

स्वास्थ्य क्षेत्रका छुट्याइएको बजेटको ६ प्रतिशतमात्रै नसर्ने रोगका लागि छुट्याइएको छ । ‘नसर्ने रोगका कारण ६६ प्रतिशत मृत्यु हुने गरेको छ, तर बजेटचाहिँ ६ प्रतिशत कसरी सम्बोधन हुन्छ,’ झाले भने ।

, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोगहरू वंशाणुगत र आफूले अवलम्बन गरेको जीवन शैलीका कारण लाग्ने गरेको प्रदेश ३ स्वास्थ्य निर्देशनालयले जनाएको छ । विलासी जीवनशैलीका कारण बिरामी हुने र मृत्यु हुनेको संङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको झाले बताए । नसर्ने रोग नियन्त्रणका लागि जनचेनता आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘हाम्रो प्रचारप्रसार पनि यतैतिर बढी आवश्यक भएको मनन गरेका छौ,’ प्रदेश ३ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत झाले भने । नेपाल न्युजबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*