सरकारले भन्यो – डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

जनपत्र
२ आश्विन २०७६, बिहीबार ०६:०५

सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । ‘मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको जानकारी दिन चाहन्छु’ उनले भने ।

उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे । डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको भन्दै उनले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले संसदमा जानकारी गराए । केही हप्तायता डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको उनले जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*