विद्यालयमा भएको आगलागीमा परी २८ को मृत्यु

लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू निदाएको बेला आगलागी भएको अधिकारीहरूले बताएका छन् । लाइबेरियाका राष्ट्रपति जर्ज वेहले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।