दाङमा अनलाइनबाट बस टिकट बुकिङ

दाङमा अनलाइनबाट बसको टिकट लिन सकिने भएको छ । दाङको त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले अनलाइनबाट बसको टिकट बुकिङ शुरू गरेको हो । उक्त यातायात समिति अन्तर्गतका डिलक्स, एसी र मिनीबसको टिकट अनलाइनबाट नै बुकिङ गर्न सकिने प्रालिका इञ्चार्ज शालिकराम खड्काले बताए । ‘हामीले सेवाग्राहीहरूको आवश्यकतालाई महसुस गर्दै अनलाइन टिकट बुकिङ सेवा सञ्चालन गरेका छौं’, उनले भने, ‘यसले अब यात्रुहरू टिकट काट् बस काउन्टरमै धाउनुपर्ने बाध्यता हट्नेछ ।’
उक्त समितिका बसको टिकट दुई÷तीन दिनअघिदेखि नै चाहेको सीटसहित टिकट बुकिङ गर्न सकिन्छ । अनलाइनबाटै टिकटको भाडा समेत भुक्तानी गर्न सकिने व्यवस्था छ । तत्कालका लागि काठमाडांै, नेपालगञ्ज, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, पोखरा, नारायणगढ, सुर्खेत, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, महेन्द्रनगर, काँकडभिट्टा र भारतको दिल्ली लगायत गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । यसले दशैंतिहार लगायत चाडपर्वमा टिकट काट्न सहज हुने अपेक्षा राप्ती यातायातको छ । तत्काल केही विशेष स्थानका लागि मात्रै अनलाइन सेवा सञ्चालन गरिए पनि छिट्टै रूकुम, रोल्पा, सल्यान लगायतका गन्तव्यका लागि पनि उक्त सेवा सुचारु हुने बताइएको छ ।