बागमती प्रदेशः मन्त्री आलेलाई बिनाविभागिय बनाइ राख्नेकी मन्त्रालय फुटाउने ?

जनपत्र
२१ चैत्र २०८०, बुधबार ०६:५२

हेटौंडा । बागमती प्रदेशमा नयाँ गठवन्धनको सरकारमा फेरी पनि समस्या सृजना भएको छ । १२ वटा मन्त्रालय रहेको यस प्रदेशमा १३ जना मन्त्री हुँदा थप समस्या परेको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई बिश्वासको मत दिने दिनमा काठमाण्डौं छु भनेर प्रदेश सभा बैठकनै तीन घण्टा ढिलो गराएर बिनाविभागिय मन्त्री बन्नु भएकी नेकपा एसकी सांसदले तत्काल मन्त्रालय पाउने अवस्था देखिएको छैन ।

मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय रहेको यस प्रदेशमा बिनाविभागिय मन्त्री आलेलाई मन्त्री नियुक्त नगर्दा बिश्वासको मत नपाउने भएपछी मन्त्री बनाइए पनि मन्त्रालय दिनका लागि भने समस्या रहेको छ । नेकपा एसकै एक जना मन्त्रीलाई राजिनामा गराएर मन्त्री आलेलाई त्यस मन्त्रालयमा पठाउने दाउमा मुख्यमन्त्री जम्मकट्टेल हुनुहुन्छ । तर, नेकपा एस भने नेकपा माओबादी केन्द्र वा नेकपा एमालेका एक जना मन्त्रीलाई हटाएर मन्त्री आलेलाई त्यस मन्त्रालयमा पठाउनुपर्ने अडानमा रहेको छ ।

मन्त्रालयपछि तोक्ने गरी आलेमगरलाई बिना विभागीय मन्त्रीमा नियुक्ति गरिएको थियो। एमालेका चार मन्त्री थपिएसँगै १२ सदस्यीय मन्त्री परिषदमा मन्त्रीको सङ्ख्या १३ पुगेको छ। फेरी बिनाविभागिय मन्त्रीका कारण मुख्यमन्त्रीको टाउको दुखाइको विषय बनेको छ । साना दलको माग स्वीकार नगरे सरकारको संकट टार्न नसकिने देखिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री पदलाई सत्ता टिकाउने कार्ड बनाउँदा मन्त्रालय भन्दा मन्त्री धेरै हुन पुगे।

नयाँ मन्त्री थपिएसँगै प्रदेशमा मन्त्रीको संख्या १३ पुगेको हो। यसअघि मन्त्रालयको संख्या धेरै भयो, राज्यलाई भार थपियो भन्ने एमाले हाल प्रदेश सरकारमा सहभागी छ। अघिल्लो पटक सरकारमा आएलगत्तै कार्यदल नै गठन गरेर तीनवटा मन्त्रालय घटाएको एमालेको यो पटक मन्त्रालय घटाउने मनस्थिती देखिँदैन।

बागमतीमा हचुवाकै भरमा मन्त्री नियुक्त गरिएको भनेर आलोचना समेत भैरहेको छ। सत्ता टिकाउनका लागि जसले जतिवटा मन्त्रालय मागेपनि सहजै स्वीकार गर्दै मन्त्री नियुक्त गरेको विपक्षी दलका नेताहरू बताउँछन्।

सोमबार बागमती प्रदेश सभाको घटनाले नेकपा एकीकृत समाजवादीले एक मन्त्री थप गर्ने मौका पायो। नेकपा एसकी सांसद रमा आलेमगर मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरेको बैठकमा तीन घण्टा हराएकै भरमा मन्त्री पाउनु भएको हो । कहिले काठमाडौंबाट हिँडे, त कहिले भीमफेदी आइपुगेँ भन्दै तीन घण्टा अल्मल्याउनुभयो ।

यसले एक समर्थक नपुग्ने डरले मुख्यमन्त्रीको होस उडायो। जब मुख्यमन्त्रीले उहाँलाई मन्त्रीमा नियुक्तीको पत्र तयार गर्नुभयो । तबमात्रै आलेमगर प्रदेश सभा भवन प्रवेश गर्नुभयो । यसरी सत्ता जोगाउन जानाजान मन्त्रालय भन्दा बढी मन्त्री दिन तयार हुनुपर्ने अवस्था आइलाग्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*