बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत

जनपत्र
१९ चैत्र २०८०, सोमबार १८:४१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत प्राप्त गरेका छन् । तोकिएको समय भन्दा तीन घण्टा ढिलोगरी सुरु भएको आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले बिश्वासको मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । ११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ५६ मत र विपक्षमा ३७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराए । विश्वासको मतका लागि भएको मतदानमा १५ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस) का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा) का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे ।

मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् ।
पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए । तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।

त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*