बागमती प्रदेश : आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने, एक सांसदका कारण बैठक प्रभावित

जनपत्र
१९ चैत्र २०८०, सोमबार १५:५६

हेटौंडा । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ’ उनले भने, ‘अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।’

नेताहरुका अनुसार सुदूरपश्चिममा पनि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ । यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ । तर तीन दलको मात्र बहुमत नपुग्ने भएकाले नेताहरुले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समेत समर्थन खोजेका छन् । त्यसका लागि पहिलो पालोमा मुख्यमन्त्री दिने सत्ता गठबन्धनको प्रस्ताव छ ।

नेकपा एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभाको बैठक प्रभावित बनेको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर हेटौँडामै नगइदिएपछि बैठक प्रभावित भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अहिले साढे २ बजेसम्म बस्न सकेको छैन ।  केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै उनी बैठकमै नगएको बताइएको छ ।

बागमतीमा पार्टीकै नेतृत्वमा सरकार हुनुपर्ने पक्षमा रहेकी उनले त्यो नहुने अवस्था हो भने आफूलाई मन्त्री बनाइनुपर्ने माग गरेकी छन् । सोही माग राखेर उनी बैठकमै नगइदिएपछि समस्या भएको सत्ता गठबन्धनका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*