जण्डिस निको पार्ने भन्दै ‘झाँक्री’ले बिरामीकाे पेट चिरेर रगत चुसे

उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन् । पेटमा ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसले बिरामी परेका मगर झन समस्यामा पर्नु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए ।
जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाण्डौमा रहेको वीर अस्पताल पठाइएको छ । गएको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताउनुभयो । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुग्नु भएको थियो ।
उपचारका क्रममा झाँक्रीले विकार तानेर यस धेरैलाई निको पारेको बताएका थिए ।। जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताउनुभयो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगरको अहिले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विमलाको भनाइ छ ।