भारतबाट आजदेखि दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपबाटै आउने, मूल्य घट्ने

भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदैछ ।पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यान्ह १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओलीले काठमाण्डौको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट तेल आउनेछ ।
पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहितको टोली अमलेखगञ्ज आइसकेको छ । २०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो । नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ । अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो ।