बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले–माओवादीको मात्र पुग्दैन बहुमत, राप्रपा निर्णायक

जनपत्र
२१ फाल्गुन २०८०, सोमबार १९:२४

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले–माओवादीको मात्र बहुमत पुग्दैन । राप्रपा वा साना दलहरु निर्णायक बनेका छन् । नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशमा पनि नयाँ समीकरणबारे चर्चा सुरु भएको छ ।

केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बने पनि बागमती प्रदेशमा यी चार दलको मात्र प्रदेशसभामा बहुमत पुग्न सक्दैन ।

त्यसैले अन्य कुन कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा सुरु भएको हो । यद्यपि नयाँ सत्ता गठबन्धनका दलहरु भने केन्द्रको निर्देशनको प्रतीक्षामा छन् ।

हाल बागमती प्रदेशमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादी छ । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकारबाहिर छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन् ।

बागमतीमा एमाले र माओवादीले मात्र सरकार बनाउन सक्ने छैनन् । दुई पार्टीको कुल सांसद संख्या ४८ छन्, प्रदेशसभामा बहुमत पुर्‍याउन उनीहरुलाई थप ८ जनाको समर्थन चाहिन्छ । यदि एमाले-माओवादीले राप्रपाको समर्थन लिएमा सहजै सरकार बन्छ ।

तर उनीहरुले राप्रपालाई सहभागी नगराउने निर्णय गरिसकेका छन् । एमाले-माओवादीले एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउँदा पनि आवश्यक बहुमत पुग्दैन । तर एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी दुवैलाई सहभागी गराए मात्र प्रदेशसभामा बहुमत पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*