दूधको मूल्य घट्दै गएपछि मकवानपुरका गाईपालक किसान चिन्तित

जनपत्र
२१ फाल्गुन २०८०, सोमबार ०६:०६

हेटौंडा । मकवानपुर जिल्लाका गाईपालक किसानका पहिलेको तुलनामा सस्तोमा दूध बिक्री गर्नुपर्दा निकै चिन्तित बनेका छन् । जिल्लामा रहेको डेरी सञ्चालकहरुलाई बिक्री गर्दा समयमानै भुक्तानी नपाउने र निजी क्षेत्रबाट बिक्री गर्ने सञ्चालकहरुलाई बिक्री गर्दा सस्तोमा दिनुपर्ने समस्या भएको किसानहरु बताउँछन् ।

बिगत चार महिना देखिको दूधको भुक्तानी लिन नपाएका कारण पनि हेटौंडा दूग्ध बितरण आयोजना र निजी क्षेत्रका डेरीलाई केही दूध बिक्री गर्ने र अरु बाँकी दूध हेटौंडा बजारमा खुल्ला रुपमा दूध बिक्री गर्ने पसलमा सस्तोमा बिक्री गर्न बाध्य भएको मकवानपुरगढीका किसान स्याम सापकोटा बताउनुहुन्छ । त्यही पनि जिल्लाका दूग्ध सहकारीहरुमा दूध बिक्री गर्दा पनि मुल्य घटाइएको छ । मिल्क होलिडेको धम्की दिएर डेरी उद्योगहरुले दूधको मुल्य घटाएको किसानहरु बताउँछन् ।

जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगरी छाडेर आएका युवाले यो व्यवासय गरिरहेका छन् । घाँस र दानको मूल्य बढदै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको किसानहरु बताउँछन् । सबैतिरको अवस्था यस्तै भएका कारण अब आफूहरुले गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न पनि मुस्किल हुने देखिएको किसानहरुको गुनासो छ ।

जिल्लामा रहेका डेरीहरुले दूध नकिनिदिएपछि दूध नबिकेर फाल्नुभन्दा आफूले सस्तो मूल्यमा किनबेच गर्न लागेको किसानहरु बताउँछन् । धेरै दुःख र मेहनत गरेर उत्पादन गरेको दूधको बजारीकरणमा समस्या भएपछि अब किसानले गाईवस्तु पालन गर्न नसक्ने भएका छन् । सरकारले व्यावसायिकरूपले गाई पाल्ने किसनलाई दूध, दाना र घाँस ढुवानीमा अनुदान दिनुपर्ने व्यवसायीहरुको माग थियो। बागमती प्रदेश सरकारले प्रतिलिटर दूधमा दिदै आएको अनुदान अझै बढाउनुपर्ने र नगरपालिकाले घाँस र दाना ल्याउँदा पनि अनुदान दिनुपर्ने किसानको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*