‘यातायात मजदुरले अनिवार्यरूपमा परिचयपत्र र पोसाक लगाउनुपर्ने’

यातायात क्षेत्रमा कार्यरत मजदुरहरुले अनिवार्यरुपमा पोसाक लगाउनुपर्ने भएको छ। अखिल नेपाल यातायात मजदुर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको ‘यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रममा यातायात मजदुरले पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए। ‘परिचयपत्र र पोसाक लगाएसँगै यात्रुले यातायात मजदुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,’ उनले भने। परिचयपत्र र पोसाक लगाएसँगै यातायात मजदुरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोसाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे।