हेटौंडा । महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक राजु बस्न्यात शनिबार प्रदेश तीन प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
प्रदेश राजधानी हेटौडामा सम्पन्न साधारणसभामा बस्न्यातले नरेश राणालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। बस्न्यातले १३ मत ल्याएका थिए भने राणाले १० मत प्राप्त गरेका थिए। अध्यक्षबाहेक सचिव, कोषाध्यक्ष पदका लागि पनि निर्वाचन भएको थियो। सचिवमा दुर्गाराज पाठक र कोषाध्यक्षमा अनिल अधिकारी निर्वाचित भए।
प्रदेश संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री सर्वसम्मत भएका थिए। महिला सदस्यमा माया ज्ञवाली निर्वाचित हुँदा सदस्यमा कैलाश रोका मगर, विनय राजभण्डारी, महेश्वरी डंगोल, प्रज्वल सापकोटा, सुदीप पिया, रुपक रञ्जित, सुजन महर्जन, अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, राजु गुप्ता र उमेश पिया निर्वाचित भए।
केन्द्रीय निर्वाचन असोज पहिलो साता
प्रदेश तीनको चुनाव सकिएलगत्तै क्यानको नयाँ विधानअनुसार सबै प्रदेशको चुनाव सम्पन्न भएको छ। अब असोज पहिलो साता केन्द्रको चुनाव हुने निर्वाचिन समितिले जनाएको छ। निर्वाचन समिती सदस्य राजेश्वार श्रेष्ठले असोज ३ र ४ गते क्यान केन्द्रीय समितीको निर्वाचन गर्ने योजनामा रहेको बताए।
खेलक्षेत्रमा राजनीति हाबी हुनु राम्रो हैन–नेता वाँनीया
प्रदेश नंबर ३ प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले खेलकुदको विकासको लागि निर्माण गरिएको संघहरुमा राजनीति भएका त्यो राम्रो नहुने बताएका छन् ।
नेपाल क्रिकेट संघ प्रदेश नंबर ३ को विषेश साधरणसभा तथा अधिवेशनलाई हेटौँडामा उद्घाटन गर्दै नेता बाँनीयाले संघसस्थामा नेतृत्व गर्ने मानिसहरुले राजनीतिलाई घुसाएर सस्थाको बदनाम गर्न नहुने बताए । राजनीतिले सबै नीतिको नेतृत्व गर्ने बताउँदै नेता बाँनीयाले त्यो राजनीति राजनीतिक दलभित्र गर्नुपर्ने बताए । नेपाली क्रिकेटले अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता बाँनीयाले अब बन्ने कमिटिले क्रिकेटमा भएको विवादलाई टुंगो लगाउँदै क्रिकेट विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास परिषद प्रदेश नंबर ३ का सदस्यसचिव सुर्यलाल भण्डारीले नेपाली क्रिकेटमा लागेको कालो बादल हटाउन अब हुने क्रिकेट संघको नयाँ साधरणसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटमा भएका अनियमितता हाटाउँदै क्रिकेटलाई पुन देशको गौरब बनाउन आफुहरु लागिपरेको बताए । अधिवेशनले आजै १३ सदस्य प्रदेश समिति निर्माण गर्ने छ ।
कार्यक्रममा क्यान मकवानपुरका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, क्यानका पुर्व पदाधिकारीहरु, आईसिसिले निर्माण गरेको स्वतन्त्र समुहका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ । कार्यक्रम मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।