काबुलमा भएको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु, ११९ घाइते

जनपत्र
१८ भाद्र २०७६, बुधबार ०६:२४

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ। एक सय १९ जना घाइते छन्। स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको मृत्यु भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा स्वरुप आचार्यले लेखेका छन्।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ। सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए। ‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने। उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४–५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए। मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको वस्तीका बासिन्दा छन्।’बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत नेपाली साथीहरुले आफूलाई जानकारी दिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*