तीजको अवसरमा हेटौंडाको पशुपति मन्दिरमा बिहानैबाट भिड

हेटौंडा । तीजका अवसरमा आज मकवानपुरका महिलाहरु बिहानै देखि नाचगान र शिवालय मन्दिरमा पूजा गर्नमा व्यस्त रहेका छन् । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको हेटौंडाको हुप्राचौरमा रहेको पशुपतिसहित मकवानपुरका दशवटै स्थानीय तहका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
बिशेष गरी हेटौंडाको हुप्राचौरको पशुपति मन्दिरमा आज बिहानैबाट महिलाहरुको भिड लागेको छ । पुजा गर्नका लागि लाईनमा बसेका महिलाहरु पुजा गर्ने नाच, गान गर्ने अनी घर फर्किएका छन् । पशुपतिमा पुजा सजिलै गर्न सक्ने र लाईनलाई व्यवस्थित बनाउनका लागि प्रहरी परिचालन गरिएको छ । यस क्षेत्रको सुरक्षा व्यावस्था पनि कडा बनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तीजका अवसरमा हेटौंडा, मकवानपुर गढी, बकैयाँ, वागमती, थाहा नगरपालिका, इन्द्रसरोवर, कैलास, राक्सीराङ, मनहरी गाउँपालिकामा रहेका शिव मन्दिरहरुमा महिलाहरु बिहानैबाट पुजा गनर्,े तीजका भाकामा गित गाउँनमै व्यस्त रहेका छन् ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । तीजसम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ । हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख छ ।
अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।