मकवानपुरको मनहरी क्षेत्रमा हात्ति आतंकले स्थानीय त्रसित, रातभरी जाग्राम बस्नुपर्ने बाध्यता
हेटौंडा । मकवानपुरको मनहरी क्षेत्रमा दिनहुँजसो जंगली हात्तिले दुख दिने गरेको छ । जंगली हात्तिले यस क्षेत्रका कच्ची घरहरु भत्काउने गरेको स्थानीय वासिन्दाहरुले बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा हात्तिले स्थानीय घरको गारो भत्काएको छ । त्यस्तै नारायण श्रेष्ठको सटरमा क्षति पुर्याएको छ भने मंगल सिंह थिङको भान्सा घरमा पसेर १ बोरा धान र चामल खाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जंगली हात्ति आउने डरले रातको समयमा पनि निदाउन नपाएको स्थानीय वासिन्दाहरुले दुखेसो गरेका छन् । यसअघि मनहरी गाउँपालिका–८ को चिसापानीमा र वडा नम्बर–७ को रमौलीमा एक घर र एक गोठमा क्षति पुर्याएको थियो । त्यसको दुई दिनपछि चिसापानीमै स्थानीयको एक तले घर पुर्ण र गोठमा आंशिक क्षति पुर्याएको थियो ।
रातको समयमा आउने एक्लो हात्तीको कारण गाउँमा त्रास बढेको छ । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गरेको छ । हात्ती नियनत्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ ।