किन मौलाउँदै छ विदेश मोह ?
रोजगारी तथा उचित अवसरको खोजीमा बिदेसिने क्रम तीव्र छ । जसका कारण गाउँ बस्ती रित्तिँदै गएका छन् । विभिन्न सरकारका योजना तथा परियोजना तिनै रित्तिँदै गरेका बस्तीमा तेर्सिएका छन् । जतिखेर मानिसको बाक्लो बस्ती थियो र विकास खोज्ने मानिस थिए, त्यतिबेला मानिसले सडकलगायतका पूर्वाधार नहुँदा अनेकौँ दुःख कष्ट गरेर जीविका चलाए । जब मानिस विकास तथा अवसरको खोजीमा तराई तथा सहर बजारमा बसाइँ सर्ने क्रममा रहे र क्रमशः विदेश छिरे तथा छिर्दै छन्, विकास यही बेला गाउँ छिरेको छ र अझ फस्टाउँदै छ । यसले जनसङ्ख्या र विकासको तालमेल हुन नसकेको र स्रोतसाधनको सदुपयोगमा चुनौती बढेको छ ।
नेपालले श्रम सम्झौता गरेका मुलुक ११ वटा भए पनि विभिन्न तवरले विश्वका १४४ मुलुकमा नेपाली श्रम गरिरहेको तथ्याङ्क विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । इराक, रुस, युक्रेन, सिरिया, सुडान, सोमालिया, युगान्डा, घानालगायतका युद्धग्रस्त मुलुकमा पनि नेपाली जोखिम मोलिरहेका समाचार छन् । अवैध तवरले विदेश जानेहरूको सङ्ख्या भयावह नै छ । मुलुकमा ऊर्जावान् जनशक्तिको खडेरी पर्न थालेको छ । सामान्यभन्दा सामान्य कामदेखि विकास निर्माणका लागि आवश्यक जनशक्ति अभावले समयमै विकासका कार्य पूरा हुन कठिन छ । मानव तस्करको जालोमा फसेर दुःख कष्ट झेलेका घटना पनि बग्रेल्ती छन् । नेपालको ग्रामीण तथा विकट बस्तीहरूका धेरै घर मानिसविहीन छन् ।
०७२ सालको भूकम्पबाट भएको क्षतिबापत सरकारले दिलाएको राहत रकमबाट बनाइएका घरहरूमा समेत ताला लागेर प्रयोगविहीन बन्दै गरेको दुर्दशा देखिन्छ । यसरी सरकारी स्रोतसमेतको दुरुपयोग भएको पाइन्छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको चार महिनाको अवधिमा कुल दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये यो अवधिमा महिला कुल २६ हजार ५४९ र पुरुष एक लाख ७९ हजार ७६७ जनाले श्रम स्वीकृति लिएका छन् । साउन महिनामा पुरुष ४७ हजार ८५० र महिला सात हजार ७२५ जना गरी कुल ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । भदौ महिनामा पुरुष ४४ हजार १९७ र महिला छ हजार ६८७ जना गरी कुल ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसै गरी असोज महिनामा पुरुष ४९ हजार ३९८ र महिला छ हजार ८३७ जना गरी कुल ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका छन् । कात्तिक महिनामा पुरुष ३८ हजार ३२२ र महिला पाँच हजार तीन सय जना गरी कुल ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको आँकडा छ । यो त केवल कानुनी तवरले श्रम स्वीकृति लिएर विदेश जानेहरूको हो । यसबाहेक अध्ययनका लागि जाने, पर्यटक भिसामा जाने, डिभी र पिआर पाएर जाने, अवैध ढङ्गले विदेश जाने तथा भारतमा रोजगारीमा जानेहरूको तथ्याङ्क यति नै होला भन्ने यथार्थ यकिन गर्न नसकिए पनि श्रम स्वीकृति लिएर जाने नेपालीको आँकडाभन्दा बढी हुन सक्ने आकलन सहजै गर्न सकिन्छ ।
नेपालमै मेहनत गरेर जसोतसो रोजगारी तथा व्यवसाय गरी दैनिकी गुजारिरहेका मानिस पनि नेपालमा त केही हुँदैन, केही गर्न सकिँदैन, यहाँ त बाँच्नै सकिँदैन भन्ने खालका भ्रम बोकिरहेका छन् । फलानो त यो देश पुग्यो, यति कमायो, उति पठायो, घडेरी जोड्यो, घर किन्यो, गाडी किन्यो, छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप पठायो, अनि मेरो साथी गयो, दिदी गइन्, मामा गए, दाइ गए, छिमेकी गए, अनि को को गए भन्ने देखासिकीले गाउँ बस्ती रित्तै भए । सहरमा मात्र होइन, गाउँ गाउँमा झन् बिदेसिने हावा बढी चलेको छ । अहिले विश्व नै एक गाउँमा रूपान्तरित हुँदै गरेको अवस्थामा उचित अवसरको खोजीमा विदेश जाने युवालाई त रोक्न कठिन र न्यायोचित पनि नहोला तर नेपालमा केही पनि छैन, केही पनि हुँदैन भन्ने मानसिकता मौलाउन दिनु पनि भएन नि !
स्कुलका विद्यार्थीमा समेत यो मानसिकताको बीजारोपण भइरहेको देखिन्छ । १२ कक्षा पढेको विद्यार्थी यहाँ थप अध्ययन गर्ने सोच्नै छाडेको छ । उसले सके ठुलै देश नसके खाडी नै भए पनि उड्ने सपना बुनेको छ । बिदेसिने हावा सुस्त होइन, जोडले नै चलेको छ । कलेज पढ्ने विद्यार्थीमा त नेपालमा पढ्ने, यहाँ जागिर गर्ने, व्यवसाय गर्ने मानसिकता नै क्षीण भएको देखिन्छ । विश्वविद्यालयमा स्नातकोत्तर पढ्ने विद्यार्थी मात्र होइन कि कलेजहरूमा स्नातक पढ्ने विद्यार्थीको सङ्ख्या नै न्यून भयो भन्ने गुनासा विभिन्न सञ्चार माध्यममा आउने गरेका छन् ।
यसरी अपरिपक्व उमेरमा नै अध्ययन या कमाउनका लागि विदेश जाने प्रवृत्ति हाबी बन्दै जाँदा यसबाट आर्थिक, पारिवारिक मात्र होइन कि राजनीतिक असन्तुलन गराउनमा मलजल पुगिरहेको छ । स्वदेशमा नै व्यावसायिक वातावरण बन्ने हो भने वैदेशिक लगानी पनि आकर्षित हुँदै जाने छन् । नेपाली विदेश होइन कि विदेशी नेपाल आएर श्रम गर्न थाल्ने छन् । किनकि नेपालमा जे जस्ता खालका सम्भावहरूको विविधता छ, त्यो विश्वको अन्य मुलुकमा विरलै मात्र भेटिन्छन् ।
विदेशी मुद्रा आर्जन र सहज जीवनशैलीको अपेक्षासँगै प्रत्यक्ष परोक्ष रूपमा नेपालमा मुद्रा भित्रिनेभन्दा पनि बाहिरिने जोखिम बढ्दै गएको देखिन्छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका केही देशमा जाने नेपालीले त नेपालमा धनराशि भिœयाउनेभन्दा पनि नेपालमा भएको पुँजी पनि पलायन गराउँदै गरेका परिदृश्य देखिने गरेका जानकारहरू बताउँछन् । विदेशका कलेज पढ्नका लागि ठुलो धनराशि बाहिरिएको छ । धेरै लगानी गरेर विदेश गइसकेपछि नकमाई स्वदेश फर्किन नसकेको तथा विकसित ती मुलुकका विद्यमान नीतिका कारण कमाएको जति पैसा गाडी, घर तथा सुविधाको नाममा त्यहीँ नै खर्चिनुपर्ने र जीवनभर कमाउँदै किस्ता तिर्नुपर्ने अवस्थाले पनि धेरै नेपाली विदेशमा नै बस्न बाध्य भएको सुनिन्छ ।
नेपालीमा उत्पादनमा भन्दा पनि उपभोगमा केन्द्रित भई विलासी जीवनशैली मौलाउँदै जाँदा विदेशबाट आएको पैसा पनि अनुत्पादक क्षेत्रमा लगानी भएको छ । यस्तो लगानी घुमिफिरी देशबाहिर नै गएको छ । फलतः नेपालको अर्थतन्त्र पनि कमजोर बन्दै गएको छ । यसरी अनियन्त्रित वैदेशिक पलायनबाट नेपालको अर्थतन्त्रलाई नै नकारात्मक असर पार्दै गएको आकलन गर्न सकिन्छ । समग्रमा नेपाल र नेपालीको हितमा हुने गरी वैदेशिक रोजगार तथा युवा पलायनलाई नियमन गर्नु जरुरी देखिन्छ । नेपालको भूउपयोग नीतिलाई वैज्ञानिक बनाएर आधुनिक कृषि प्रणाली, ग्रामीण पर्यापर्यटन, जलविद्युत् विकास तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा उचित नीति अङ्गीकार गरी युवालाई स्वरोजगार बन्ने अवसर सिर्जना गर्न सक्ने अवसरको भरपुर उपयोग गर्न सक्ने हो भने बढ्दो वैदेशिक पलायन नियन्त्रण गर्न सकिन्छ । गोर्खापत्र दैनिकबाट साभार ।