तीन पटक म्याद थप गर्दा पनि हेटौंडामा पाउडर प्लान्ट निर्माणको काम सकिएन, ठेकेदारलाई १० प्रतिशत जरिवाना नतिराउन चलखेल

हरि हुमागाईं
१८ मंसिर २०८०, सोमबार ११:२३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा निर्माण भइरहेको पाउडर प्लान निर्माणको काम अहिले सम्म सकिएको छैन । हतार हतारमा पाउडर प्लान्ट निर्माण गरेको भनेर एक दिन परिक्षण उत्पादन गरेपनि प्रदेश सरकारसंग भएको संझौता अनुसार दूधबाट पाउडर उत्पादन नभएपछी फेरी मर्मतको काम भइरहेको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना गर्नका लागि हाल सम्म तीन पटक सम्म म्याद थप गरिएको तर, काम भने नसकिएको दुग्ध विकास बोर्डका एक कर्मचारीले बताए ।

निर्माण कम्पनिले काम समयमा नगर्ने, भारतबाट पाउडर उत्पादन गर्ने मेसिनरी सामानहरु ल्याएपनि जडानमा ढिलाइ गर्ने तर, निर्माणको चरणमा यसअघिनै बिभीन्न कारण देखाएर म्याद थप गरिएको छ । अब म्याद थप गर्न पनि कुनै कानूनी आधार छैन ।

पाउडर प्लान्ट निर्माणको काम सकेर २०८० साल कार्तिक ३० गते सम्म दुग्ध विकास बोर्डलाई हस्तान्तरण गरिसक्नुपर्ने भनेर संझौतामा उल्लेख छ । तर, आजका मिति सम्म पनि निर्माण कम्पनिले काम पनि सकेको छैन र हस्तान्तरण पनि नगरिएको बोर्डका कर्मचारी र पदाधिकारीहरु बताउँछन् । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो ।

किसानले उत्पादन गरेको दुध विभिन्न कारणले सडकमा फाल्नुपर्ने समस्या झेल्दै आएको बखत प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको थियो । एक वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माण गरिएको थियो ।

पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौँले निर्माण सम्झौता गरी निर्माणको शिलान्यास गरिएको उक्त उद्योगको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर, पाउडर प्लान्ट निर्माणको काम भइरहेको छ । प्लान्ट निर्माणको चरणमा भारतिय इन्जिनियर सहितका कामदारहरुले प्लान्टमा काम गरिरहेका छन् । प्लान्टबाट पाउडर दूध उत्पादन हुनका लागि अझै केही दिन लाग्ने कार्यरत भारतिय प्राबिधिकहरु बताउँछन् । प्लान्टमा दूध हालेर फाउडर उत्पादन गर्ने भनिएपनि बोर्डसंग भएको संझौता अनुसार काम भइसकेको छैन ।

प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष समेत रहनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले भने दुग्ध पाउडर प्लान्ट निर्माणको काम सकिएको र हस्तान्तरणको चरणमा रहेको बताउनुभयो । अहिले किसानले उत्पादन गरेको दूध खेर गइरहेको समयमा छिटो भन्दा छिटो पाउडर प्लान्टमा दूध खपत गरेर पाउडर उत्पादन गरिने बताउनुभयो ।

सबै भन्दा महत्वपूर्ण काम भनेको प्लान्ट सञ्चालनमा ल्याउनु रहेकाले यस तर्फ बोर्ड र मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठले बताउनुभयो । बोर्डसंग भएको संझौता अनुसार पाउडर दुग्ध उत्पादन नहुँदा यसमा पनि मर्मतको काम भइरहेको छ । एक दिन परिक्षण उत्पादन गरिएपनि अहिले भने निरन्तर रुपमा यसमा मर्मत पनि भइरहेको छ । पहिले पनि कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारीको मिलेमतोमा ठेकेदारलाई पोस्नेगरी म्याद थप गरिएको र अहिले पनि काम नसक्दै सकिएको भनेर पहिलेकै मितिमा कागज तयार गरेर जरिवाना नतिराउनका लागि चलखेल भइरहेको हो ।

तीन पटक म्याद थप गर्दा पनि काम सकेर हस्तान्तरण नगरेकाले निर्माण कम्पनिलाई दश प्रतिशत जरिवाना तिराउनुपर्ने कानूनी व्यवस्था रहेको छ । तोकिएको अवधि भन्दा पहिले काम सकेमा पुरस्कार स्वरुप थप रहम प्राप्त गर्ने र तोकिएको अवधिमा काम नसकेमा जरिवाना तिराउनुपर्नेमा त्यो जरिवाना नतिराउनका लागि चलखेल सुरु भएको हो ।

४७ करोड रुपैयाँ लागतमा निर्माण गरेको कम्पनिलाई जरिवाना नतिराइकन अन्तिम भुक्तानी दिनका लागि बोर्ड, कृषि तथा पशुपन्छी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरु सक्रिय भएर लागेका छन् ।

जरिवाना तिराउनुपर्ने निर्माण कम्पनिलाई अन्तिम रकम भुक्तानी दिनका लागि दुग्ध विकास बोर्डसंग पर्याप्त रकम पनि छैन । करिब ६ करोड रुपैया रकमान्तर गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृतिमा रकम भुक्तानी दिने तयारी भइरहेको बोर्डका कर्मचारीले बताए । पहिलेकै मिति अर्थात बितेको कार्तिक ३० गतेनै निर्माणको काम सकिएको र हस्तान्तरण गरिएको भनेर कागजात मिलाएर अर्थसंगको स्वीकृतिमा रकम निकासा गर्न लागिएको छ ।

यता उद्योग निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले उद्योगको काम पनि सकिएको र अब म्याद थप गर्न जरुरी नभएको बताउनुभयो । म्याद थप गरेको अवधिमानै काम सकिएको र अब भुक्तानी लिन बाँकी रहेको पौडेलको दावि छ । तर, उद्योग परिषर भित्र पुग्दा काम भइरहेको छ ।

पाउडर प्लान्ट निर्माणका लागि सुरुवातीको समयमा ४१ करोड ४२२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीको मिलेमतोमा केही काम पनि थप गरेको भनेर नियम र कानूनलाई मिचेर ६ करोड थप गरिएको थियो । अहिले उद्योगको लागत बढेर ४७ करोड पुगेको बोर्डका एक कर्मचारी बताउँछन् ।

संघीय सरकार मातहतको दुग्ध विकास आयोजनाको पशु आहार उत्पादन उद्योगको २ बिघा क्षेत्रफलमा जग्गामा पाउडर प्लान्ट स्थापना गरिएको हो । हाल उद्योगमा जडान गरिएको मेसिनरी औजार तथा उपकरण परीक्षणको काम भइरहेको छ भने भौतिक संरचना निर्माण लगायतको काम पनि सक्न बाँकी रहेको छ । तर, निर्माण कम्पनिलाई कुल लागतको १० प्रतिशत जरिवाना तिराउनुको सट्टा उनमुक्ति दिन लागिएको छ ।

अब उद्योग परिसरलाई व्यवस्थित गर्ने र चिस्यान केन्द्र (कोल्ड रुम) सञ्चालनको काम मात्र बाँकी छ । उद्योग परिषरका धेरै काम बाँकी रहेको छ । दुग्ध पाउडर प्लान्ट भित्रका ठुला ठुला रुखहरु पनि डिभिजन वन कार्यालयको स्वीकृति विना निर्माण कम्पनिले कटान गरिएको छ । कटान गरिएका रुखका गोलाइहरु कार्यालयकै गेट भित्र राखिएको छ । अरु रुखहरु पनि कटान गर्ने चरणमा रहेको छ ।

किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम गर्न भने बाँकी नै रहेको बोर्डका पदाधिकारीहरु बताउँछन् ।

आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा पानीको प्रयोगबाट परीक्षण थालिएको केही दिनमै धुलो दुध उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्ने पौडेलले बताउनुभयो । प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दुध संकलन गरी प्रशोधन गरेर पाउडर दुधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरिने छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*