कोलकाता बन्दरगाहमा नेपालको आफ्नै ‘कन्टेनर फ्रेट स्टेसन’

भारतको कोलकाता बन्दरगाहमा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सीएफएस) सन्चालनमा आएको छ । नवनिर्मित सीएफएसको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गरेका हुन् । सीएफएस ‘ट्रान्जिट’ बन्दरगाहनजिक मालवाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउँ हो ।
कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाइ आयात–निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्नेतर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस सन्चालनबाट ठूलो राहत पुग्न जाने विश्वास महासंघको छ । आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अब कम खर्चमै कार्गो राख्नसक्ने छन् । उक्त सीएफएसमा करिब ५०० कन्टेनर राख्न सकिने बुझिएको छ ।
समारोहमा महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको आफ्नै सीएफएस सन्चालनबाट ठूलो राहत पुग्ने बताए । कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत् प्रतिटन/प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दाबी छ ।