अभ्यास खेलमा नेपाल विजयी

नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो ।
नेपालले बादुरेलियालाई १६५ रनको लक्ष्य दिएको थियो । बादुरेलिया २३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनायो । बादुरेलियाका लागि थिभेन्दु डिक्वेले सर्वाधिक ३१ रनको योगदान दिए । आभिस्का लक्सनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै पवन सर्राफ र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो । वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ् ३५ ओभरमा झारिएको थियो । वर्षा बाधक बनेपछि बादुरेलियाले डिएल पद्दतिको आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रीत गौतम र हरि चौहानले अर्धशतकीय इनिङ् खेले । रीतले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४, आसिफ शेखले १४ तथा भीम सार्कीले १० रन बनाए ।