मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो, बस्तीमा डर

म्याग्दी । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ ।
घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् ।
‘सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो’, उनले भने, ‘अरु ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा बगरको सतह बढेर बस्तीमै पुग्न थालेको छ ।’
बर्सेनी भौतिक संरचनामा ठूलो क्षति भएको स्याङका बासिन्दा ङुटुक गुरुङले बताए । ‘नदी नियन्त्रण गर्न पक्की र ग्याबिन पर्खाल निर्माण भए पनि बगरको सतह बढेर बस्तीमै आउन थालेको छ’, उनले भने, ‘नदी नियन्त्रण र बगर व्यवस्थापनको प्रभावकारी कदम नचाल्ने हो भने मुस्ताङको तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्न धेरै वर्ष पर्खनुपर्दैन ।’