मकवानपुरका गाउँ-गाउँमा काठका विद्युत् पोल, हटाउनै चुनौती

जनपत्र
४ मंसिर २०८०, सोमबार ११:४५

हेटौंडा । मकवानपुरको गाउँगाउँमा काठका विद्युत् पोलले अहिले पनि नागरिकहरुले बिजुली बालिरहेका छन् । मकवानपुरको बिभीन्न गाउँपालिकाहरुमा काठका पोललाई बिस्थापित गरेर फलामका पोल हाल्ने नेपाल विद्युत प्राधिकरणको योजना कार्यान्वयन हुनका लागि कठिन भइरहेको छ ।

मकवानपुरको राक्सिराङ, कैलाश, मकवानपुरगढी, बकैयाँ, बागमती लगायतका गाउँपालिकामा काठका पोलका माध्यमले स्थानीयहरुले बिजुली बालिरहेको नेपाल बिद्युत प्राधिकरण हेटौंडाका सूचना अधिकारी रामबाबु लोप्चनले बताउनुभयो । मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा अहिले पनि वर्षौंपहिले विद्युत् आपूर्तिका लागि प्रयोग गरिएका करिब १५ हजार भन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण, हेटौंडा वितरण केन्द्र र पालुङ वितरण केन्द्रले दुई वर्षअघि आफ्नो सेवा क्षेत्रभित्र रहेका काठका पोल विस्थापन गर्ने अभियान सञ्चालन गरे पनि पछिल्लो समय बजेट अभावका कारण अभियान सञ्चालन हुन सकेको छैन ।

वर्षौं पहिले गाडिएका काठका पोल जीर्ण भइसकेका छन् । काठको पोल विस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले बजेट व्यवस्थापन गर्न नसकेपछि यस वर्ष काठको पोल विस्थापन अभियान भने सञ्चालन नहुने भएको हो । प्राधिकरणको बजेट अभाबका कारण काठका पोल विस्थापित गर्ने अभियानलाई निरन्तर्ता दिन नसकिएको लोप्चनले बताउनुभयो । मकवानपुरको राक्सराङ र कैलाश गाउँपालिकामा हाल सबभन्दा धेरै काठका पोल प्रयोग भएका छन् ।

काठको पोल विस्थापन गर्नुपर्ने सहरी क्षेत्रमा सिमेन्टको पोल र ग्रामीण क्षेत्रमा स्टिलको पोल प्रयोग गरिदै आएको छ । काठको पोल विस्थापनका लागि धेरै बजेट खर्च गर्नुपर्ने भएकाले काठको पोल नभाँचिएसम्म त्यही पोल नै प्रयोग गर्ने र भाँचिएर विद्युत् अवरोध हुने खण्डमा मात्रै अर्को पोल हालिने उहाँले बताउनुभयो ।

हेटौंडा केन्द्र अन्तर्गत हाल कति काठका पोल प्रयोगमा रहेका छन् र कति विस्थापन गर्नुपर्ने अवस्थामा रहेका छन् भन्ने सन्दर्भमा तथ्याङ्क सङ्कलनका लागि कर्मचारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले काठको पोल विस्थापनका लागि छुट्टै बजेट नभएकाले काठको पोल भाँचिएको खण्डमा मात्रै पोल विस्थापन गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*